न्यायालयलाई ओलीको आग्रह– जनतालाई मर्का नपर्नेगरी न्याय निरूपण गर्नु

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आम जनतालाई मर्का नपर्नेगरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा बुढानीलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा बोल्दै उनले सो आग्रह गरेका हुन् । अध्यक्ष ओलीले जनताको विश्वास घट्ने गरी न्याय निरूपण नगर्दा राम्रो हुनेतर्फ पनि अदालतको ध्यानाकर्षण गराए ।

पर्याप्त सोच विचार बिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने खालको न्याय निरूपण नगरी अदालतले वास्तविक यथार्थलाई बुझेर न्याय दिनुपर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले व्यक्तिको अधिकार सामूहिक हितको तुलनामा गौण हुने भएकाले न्याय निरूपण गर्दा अदालतले सो विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

उनले भने ‘म न्यायालयलाई पनि के आग्रह र अनुरोध गर्न चाहन्छु भने खाली कानुनको पुस्तकमात्रै पल्टाएर न्याय गरिएजस्तो अथवा पर्याप्त सोच विचार विना न्याय गरिएजस्तो जनताको विश्वास घट्नेगरी न्याय निरूपण अदालतले नगर्दाखेरि राम्रो हुन्छ । वास्तविकता यथार्थ बुझेर सबै पक्ष हेरेर आम जनतालाई मर्का नपर्नेगरी गरे हुन्छ । व्यक्तिका अधिकार पनि सुरक्षित हुनुपर्छ । तर व्यक्तिका अधिकार साँच्चैको अधिकार हो कि होइन ? भन्नेकुरा पनि हेर्नुपर्छ । र व्यक्तिका अधिकारको कुरा गरिरहँदा सार्वजनिक स्थलहरूमा समुदायको हितहरू जोडिन गएभने व्यक्तिका हित गौण हुने गर्दछ । त्यसकारण उचित हित हो कि होइन ? व्यक्तिका ती कुराहरू पनि हामीले हेर्नुपर्छ भन्ने मलाई लाग्छ । अव केही हुँदैन, केही हुँदै भएको छैन भन्ने होइन । नेपालमा भइराखेको छ । कामहरु भइराखेको छ । यो बीचमा ३ वर्ष यस अघि विकासले गति लिइसकेको ठाउँमा यो ३ वर्ष अर्थतन्त्र ओरालो लाग्यो । राजनीति अस्थिर भयो । असभ्यता बढ्यो समाजमा । अराजकता बढ्यो समाजमा । के बोल्ने, के नबोल्ने, के गर्ने, के नगर्ने ? जस्ता कुराहरू भएनन् ।’

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकास निर्माणको काम आरोलो लागेको जिकिर गर्दै अब क्रमशः अघि बढ्ने दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *