डोल्पामा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ ।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रबार र दुई जनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए । उपचारको क्रममा एक जना राति र एक जना बिहानपख मृत्यु भएको प्रजिअ दाहालको भनाइ छ ।

काठमाडौँमा मृत्यु हुनेमा १२ वर्षीया विवस बुढा र वर्ष १३ का समन्त बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएको र बचाउनका लागि धेरै प्रयास गर्दा नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए ।

एकै गाउँका तीन बालबालिका आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँनै शोकमा डुबेको उनले बताए । आगलागीमा परेर एक घरका दुई बालबालिकाको मृत्यु भएको उनको भनाइ छ । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारको लागि हेलिकप्टरको व्यवस्था गरेर काठमाडौँ पुर्याइएको थियो ।

डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो । घाइते बालबालिकाको उद्धारको लागि हेलिकप्टर भाडा मात्रै साढे सोह्र लाखभन्दा धेरै खर्च आएकाले यसका लागि त्रिपुरासुन्दरी नगरपालिका, कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *