राष्ट्रपति पौडेलद्वारा सपनातिर्थ मन्दिरमा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरेका छन् ।

नयाँ वर्षको अवसरमा पौडेलले श्रीमती सबिता पौडेलसहित काठमाडौँबाट करिब १० किलोमिटर दूरीमा पर्ने उत्तरी भेग टोखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनातिर्थ मन्दिरमा आज पूजा अर्चना गरी फूलप्रसाद ग्रहण गरेका हुन् ।

नयाँ वर्ष २०८१ को अवसरमा सपनतीर्थमा परम्परागत जात्रा तथा मेला एक हप्तासम्म लाग्ने गर्दछ । सपना तीर्थ मन्दिर परिसरमा लाग्ने सपन तीर्थ मेलाका लागि ‘सपन तीर्थ पोखरी’ क्षेत्रमा सजावट गरिएको छ । सो मेलामा काठमाडौं उपत्यका तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानबाट आजको दिन आउने भक्तजनले पोखरीमा स्नान गर्ने गर्दछन् ।

सपन तीर्थ पोखरीमा स्नान गर्नाले निःसन्तानलाई सन्तान हुने तथा छालासम्बन्धी रोग नलाग्ने जनविश्वास रहेको छ ।

राष्ट्रपति पौडेल मन्दिर परिसरमा पुग्दा सांसद प्रदिप पौडेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, सपना तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोललगायतले पौडेललाई स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेललाई क्षेत्र विकास समितिका पदाधिकारीले मायाको चिनो समेत प्रदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *