रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : नयाँ–पुरानोको बहसले मुलुकमा समस्या थपियो

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई नयाँ नभई बलियो राजनीतिक शक्ति आवश्यकता रहेको बताएका छन् ।
महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै नयाँ र पुरानो राजनीतिक पार्टीहरूको बहसले मुलुकमा राजनीतिक अस्थिरतालाई नै मलजल गरिरहेको जिकिर समेत गरे । पार्टीको ललितपुर जिल्ला कमिटीले शुक्रवार गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा नयाँ नयाँ प्रयोग नभई बलियो राजनीतिक शक्तिको निर्माण गर्नु राष्ट्रिय आवश्यकता भएको तर्क समेत गरे ।
महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न पनि बलिया राजनीतिक शक्तिहरूको विकल्प नभएको दोहोर्याए । उनले अमेरिका, चीन, भारत, बेलायत लगायतका देशहरूको दृष्टान्त पेस गर्दै विकास र समृद्धिको प्रश्न अगाडि आउँदा बलिया राजनीतिक दलहरूको मात्रै त्यसलाई नेतृत्व गर्न सकेको बताए । मुलुकको विकास र समृद्धिको आधारशिला बलिया र ठूला राजनीतिक दलहरूबाट मात्रै सम्भव रहेको महासचिव पोखरेलको भनाई थियो ।
उनले भने ‘हामी हाम्रो मुलुक भित्र नयाँ र पुरानोको बहस गरेर के गरिरहेका छौं ? मुलुकमा राजनीतिक अस्थिरतालाई मलजल गरिरहेका छौँ । जे समस्या हो, त्यो समस्यालाई विस्तार गरिरहेका छौं । समस्या हल गर्ने दिशामा हाम्रो ध्यान केन्द्रित हुन सकिराखेको छैन । त्यस अर्थमा अव हामीले भन्न सक्नु पर्दछ–जनताका बीचमा अव नयाँ नयाँ प्रयोग होइन । धेरै राजनीतिक दलहरूका बीचमा जनमतलाई विभाजित गर्ने होइन । अब राष्ट्रको आवश्यकता जनमतको ध्रुवीकरण, राजनीतिक दलहरूको ध्रुवीकरण, बलिया राजनीतिक दलहरूको निर्माण । यो नै अहिलेको राष्ट्रिय आवश्यकता हो । त्यसले मात्रै विकास र समृद्धिको नेतृत्व गर्नसक्दछ । हो, निरंकुशताको कालमा राजनीतिक दलहरूले आफ्ना नीतिको आधारमा राजनीति बिस्तार गर्न सक्दाखेरि धेरै पार्टीहरू अस्तित्वमा रहे । यो सच्चाई हो । तर जब विकास र समृद्धिको प्रश्न अगाडि आउँदछ । जब लोकतान्त्रिक समाज व्यवस्थाको निर्माण हुने गर्दछ । त्यसपछि धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दलहरूको आवश्यकता पर्दछ भन्ने सच्याइलाई हामीले जनताका बीचमा लिएर जान सक्नुपर्दछ । त्यसले मात्रै मुलुकको विकास र समृद्धिको आधारशिला तयार गर्नसक्दछ । भन्न सक्नुपर्दछ–ठूला पार्टी भित्रै सुधार सम्भव छ । नीतिको विकल्प पनि त्यही खोज्न सकिन्छ, नेतृत्वको विकल्प पनि त्यही खोज्न सकिन्छ । त्यस अर्थमा नेपाललाई अस्थिरताको प्रयोगशाला नबनाऔँ । स्थायित्वतर्फ लिएर जाऔँ भन्ने कुराको अपिल गर्न सक्नुपर्दछ । ’
महासचिव पोखरेलले मुलुकलाई सही ढंगले नेतृत्व दिन सक्ने पार्टी एमालेमात्रै भएको दाबी पनि गरे ।








