वर्षाले घटाएन वायु प्रदूषण, काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं । देशभर बुधबार र बिहीबार पानी परेपनि प्रदूषण र तुवाँलो भने कायमै छ । एक सातादेखि हरेक दिन मानव स्वास्थ्यलाई हानि गर्ने स्तरमा प्रदूषणको तह पुग्दै आएकोमा वर्षा भएपनि त्यो कायमै रहेको हो ।

आज बिहान साढे ९ बजेको रेकर्ड अनुसार  काठमाडौं विश्वकै दोस्रो सबैभन्दा बढी वायु प्रदूषण भएको सहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार काठमाडौं विश्वको दोस्रो बढी वायु प्रदूषण भएको सहर रहेको छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स १७९ रहेको छ ।

पहिलो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २८७ रहेको छ । अहिले काठमाडौं र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

प्रदूषणले स्वास्थ्यमा गम्भीर असर 
बढ्दो वायु प्रदूषणले मानव शरीरमा गम्भीर असर पारिरहेको चिकित्सकले बताएका छन् । श्वासप्रश्वासका कारण दूषित हावा शरीरमा प्रवेश गरी अल्पकालीन र दीर्घकालीन असर पुर्‍याइरहेको छ । वायु प्रदूषण बढ्दा घातक ग्यासका कण शरीरमा प्रवेश गर्ने भएकाले श्वासनलीमा संक्रमण, फोक्सोमा क्यान्सरलगायतको जोखिम बढिरहेको छ ।

छाती रोग विशेषज्ञ डा. नीरज बमका अनुसार पहिलेदेखि नै श्वासप्रश्वासको समस्या भएकाहरूमा वायु प्रदूषणको सीधा असर पर्छ । उनीहरूमा दम बढ्ने, क्षयरोग भएका व्यक्तिमा खोकी बढ्ने, खकारमा रगत देखिने, ब्रोंकाइटिस भएका व्यक्तिमा गम्भीर लक्षण देखिने हुन्छ । यसबाहेक मधुमेह, रक्तचाप, फोक्सोमा संक्रमण, गर्भाधानमा समस्याजस्ता समस्या पनि बढाइरहेको छ । प्रदूषण अत्यधिक भएको क्षेत्रमा बसोबास गर्दा श्वासनलीमा समस्या देखिने, घाँटी दुख्ने वा खसखसाउने, रुघाखोकी लाग्ने, भाइरस संक्रमण बढाउने जोखिम हुन्छ ।

प्रदूषणको मात्रा बढ्दै जाँदा छाला चिलाउने, आँखा चिलाउने वा रातो हुने समस्या देखिन्छन् । प्रदूषण बढेको समयमा घरबाट सकेसम्म ननिस्किने वा मास्क लगाएर मात्रै निस्कन चिकित्सकको सुझाव छ । तर, मास्कको प्रयोगले मात्रै जोखिमबाट बच्न नसकिने भएकाले प्रदूषण नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको उनीहरूको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *