आजदेखि सफा हिमाल अभियान सुरु

काठमाडौँ । नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत आजदेखि अभियान सुरु गरेको छ ।
बिहीबार नेपाली सेनाको जङ्गी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२४ को ब्यानर हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन् । आजदेखि शुरु भएको अभियान वि।सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताइएको छ ।
ब्यानर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधान सेनापति शर्माले हिमाल सफा गर्ने यस अभियानले सफलता पाउने विश्वास व्यक्त गरे । उनले हिमाललाई धार्मिक, सांस्कृतिक एवं मानव सभ्यताको समेत विकास भएको प्रमुख अंगको रुपमा लिने गरिएको बताए । उनले जलाधार, जैविक विविधताको संरक्षण, साहसिक पर्यटनको सम्भावनाका कारण हिमालय क्षेत्रको उत्तिकै महत्व रहेको बताए ।
उनले पछिल्लो वर्षहरूमा हिमाल आरोहणमा वृद्धि हुँदै गएको र फोहोरपनि थुप्रिन थालेकाले सरसफाइमा ध्यान पुर्याउनुपरेको बताए । उनले नेपाल सरकारको नीति अन्तर्गत नेपाली सेनाले यसको जिम्मेवारी लिएको पनि बताए ।
उनले भने – ‘पछिल्लो वर्षमा हिमाल आरोहणमा वृद्धि हुँदै गएका छन् । र ती आरोहणहरूमा वृद्धि भएयता ती क्षेत्रमा थुप्रिने गरेको फोहोर र त्यसको उचित व्यवस्थापन मुख्य चुनौती हुँदै आइरहेको छ । यसले हाम्रो हिमालहरूको सौन्दर्यताकलाई असर पारिरहेको छ । विशेषगरी विदेशी पर्यटकहरूलाई नकारात्मक असर पर्दै आएको कुरा सञ्चारमाध्यममा राख्ने गरेका छन् । हिमाल सफा गर्न संवद्ध मन्त्रालय, विभाग, संघसंस्था, हिमाल बचाउन लागेका संघसंस्थाको पनि उत्तिकै दायित्व छ । सबै मिलेर ग¥यौँ भने सम्भव छ । सबैले साझा प्रयास गर्नुपर्छ । हिमालहरूलाई सफा र स्वच्छ राख्न दीर्घकालीन रुपमा सोच्नुपर्ने आवश्यकता भइसकेको छ । अभियानलाई पछिसम्म निरन्तरता दिनुपर्छ ।’
कार्यक्रममा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले अभियानका क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइहरूबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको बताउनु जानकारी दिए । उनले नेपाल सरकारको वार्षिक कार्यक्रममा उल्लेख भए बमोजिम हिमालहरूको स्वच्छता कायम गर्ने उद्देश्य अनुरूप सफा हिमाल अभियान २०२४ गरिएको पनि बताए ।
उनले भने – ‘पर्यटनको प्रमुख आधार रहेको हाम्रो सुन्दर हिमालहरूमा मानवीय कारणले फोहोर हुने क्रम कायमै रहेको छ । जसको कारण हिमाली क्षेत्रहरू जैविक विविधता र पर्यावरणमा असर पुगिरहेको तथ्य विभिन्न अध्ययनले देखाएको ब्यहोरा सर्वविदित नै छ । यसै परिप्रेक्षमा नेपाल सरकारको वार्षिक कार्यक्रममा उल्लेख भए बमोजिम हिमालहरूको स्वच्छता कायम गर्ने उद्देश्य अनुरूप सफा हिमाल अभियान २०२४ का साथ हामी फेरि पनि उपस्थित भएका छौँ । जैविक विविधता तथा प्राकृतिक स्रोतहरूको सुरक्षा तथा व्यवस्था सबैको साझा दायित्व हो भन्ने कुराको आत्मसात् गर्दै सरोकारवाला निकायहरूको सक्रिय सहभागिताको आवश्यकताको महसुस गरिएकोले यस अभियानमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, स्थानीय निकाय तथा संरक्षण कार्यमा सरोकार राख्ने विभिन्न संघसंस्थाहरुसँग आवश्यक सहकार्य गरी यस अभियानलाई अगाडी बढाएका छौँ ।’
उनले मानिसका कारण हिमालहरूमा धेरै फोहोर थुप्रिइरहेका कारण सफा गरेर हिमालको स्वच्छता कायम गर्नुपर्ने बताए ।








