ठाडो निवेदन दिएकै भरमा गृहमन्त्रीमाथि छानबिन समिति बन्न सक्दैन् : सरकार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आरोप लगाइरहेको बताएकी छन् ।
बुधवार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताइन् । उनले काँग्रेसले सुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रस्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको बताइन् । उनले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्नेकुरामा सरकार सकारात्मक रहेको बताइन् ।
उनले भनिन् ‘संसद लामो समयदेखि अवरुद्ध छ । अवरुद्ध नै भएको त दुई तीन दिन भयो । तर त्यहाँ प्रश्नहरू उठिरहेका छन् । खासगरी उपप्रधान एवं गृहमन्त्रीको बारेमा जे कुराहरू उठिरहेका थिए, त्यो बुझ्दा एउटा ठाडो निवेदन गएको र दर्ता पनि नभएको भन्ने छ । समग्र विषयको छानबिन गर्नेकुरामा त कुनै अन्यथाको कुरा भएन । जुन बेलाबाट सहकारीभित्र समस्या देखापरे, त्यसमा छानबिन गरी समस्या समाधान गर्ने कुरामा कसैको असहमति हुँदैन । तर सुरुवातमा नेपाली काँग्रेसको गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रस्तुत भयो, त्यो होइन, त्यसरी गर्नु हुँदैन । यसलाई राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले आरोप लगाइनु हुँदैन भन्नेकुरा नै हो । एकातिर प्रधानमन्त्रीको प्रस्ताव गर्न गएको भन्नेकुरा र अर्कोतिर गृहमन्त्री हुँदा छानबिन गर्नुपर्छ भन्नेकुरामा यस्तो खालको राजनीति हुँदैन । यस्तो राजनीति गर्नु हुँदैन भन्ने नै हो सरकारको कुरा ।’
मन्त्री शर्माले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बनाउने गरी सरकार अघि बढिरहेको पनि बताइन् । उनले अनलाइन मिडिया आइसके, न्यु मिडियाहरू आइसकेको अवस्थामा सबैलाई प्रोत्साहित गर्नका लागि पनि मिडिया काउन्सिलको आवश्यकता भएको बताइन् । उनले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक रहेको पनि बताइन् ।
उनले भनिन् ‘प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बन्नुपर्छ, किनभने अनलाइन मिडिया आइसके, न्यु मिडियाहरू आइसके, सबैलाई पनि हामीले प्रोत्साहित पनि गर्नुपर्छ, उनीहरूलाई सेवा शुल्क पनि दिनुपर्छ । उनीहरूलाई नियमन पनि गर्नुपर्छ भन्ने ढंगले हामी अघि बढेको छौँ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक छ । हाम्रो आम सञ्चारको क्षेत्र पुनः संरक्षित हुन्छ । अहिले हामी बजेटको पूर्वसन्ध्यामा भएको हुनाले मन्त्रालयमा छलफल गरिरहेका छौँ । मोफसलमा पत्रकारिता गर्नेकुरा धेरै नै चुनौतीपूर्ण छ । धेरै नै अफ्ठयारो छ ।’
उनले पत्रकारिता गर्नेकुरा चुनौतीपूर्ण रहेको पनि बताइन् ।








