नेकपा एसले भन्यो– काँग्रेसको माग अनुसारको छानविन समिति बनाऔँ

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरे अनुसारको सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका हुन् ।
उनले प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसदको गतिरोध अन्य गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘संसदभित्र केही दिनदेखि प्रमुख प्रतिपक्षले सहकारीका ठगि प्रकरणका सम्बन्धमा छानविनको माग लिएर संसदको बैठक अवरोध गरिरहेको छ’ उनले भने, ‘प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसदको यो गतिरोध अन्य गर्न म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु ।’
उनले नेकपा(एकीकृत समाजवादी) पनि २०४७ सालदेखिकै भ्रष्टाचारहरुको छानविन गर्ने पक्षमा रहेको पनि बताए ।
सांसद पाण्डेले दोषिलाई उम्काउनेगरी नभई कारबाही गर्नेगरी छानविन गर्नुपर्ने बताए ।
‘सहकारी ठगिको छानविन र भ्रष्टाचारको छानविन गर्ने कुरा जोडदार उठिरहेको बेला ०४७ सालदेखिकै भ्रष्टाचारको छानविन गर्ने कुरो पनि आयो’उनले भने,‘नेकपा(एकीकृत समाजवादी) पार्टीको तर्फबाट म के भन्न चाहान्छु भने ठिक छ, ०४७ सालदेखिकै भ्रष्टाचार छानविनको काम गरौँ । दोषिहरुलाई कारबाही गर्ने गरी छानविन गरौँ । उम्काउने गरी होइन ।’








