सहकारीको विषय सत्ताको दाउपेचको विषय बनाउनु हुँदैन : माधव सापकोटा

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सहकारीको विषयलाई सत्ता दाउपेचको विषय बनाउनु नहुने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा कोही अस्पष्ट नभएको भन्दै यसलाई सत्ताको दाउपेचको विषय बनाउनु नहुने बताएका हुन् । उनले कोही व्यक्ति विशेषलाई खुइल्याउने र तत्काल रियाक्ट गर्ने विषयमा संसदलाई लानु नहुने बताए । उनले संसदलाई बन्धक नबनाई अगाडी बढाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

सांसद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा प्रधानमन्त्रीले फैसला सुनाएको आरोप लगाएको भन्दै प्रधानमन्त्रीले राज्यका संयन्त्रले दिएका तथ्य र प्रमाणको आधारमा कुरा राखेको बताए ।

उनले भने ‘तथ्य, तथ्यांकहरु प्रधानमन्त्री आफैँले काल्पनिक ढंगले विषयहरु खडा गर्ने त होइन । प्रधानमन्त्रीले आफ्ना राज्यका संयन्त्रहरुले दिएका सबै तथ्य, प्रमाणहरुलाई संसदमा आएर प्रस्तुत गर्नुभएको हो । त्यसमा तपाईहरुले भनिरहनु भएको छ कि प्रधानमन्त्रीले फैसला गर्नुभयो । प्रधानमन्त्रीले फैसला गर्नुभएको होइन । राज्यका संयन्त्रहरुले दिएका तथ्य, प्रमाणहरुका आधारमा संसदमा प्रस्तुत गर्नुभएको हो । म प्रमुख प्रतिपक्ष र सबैलाई के अपील गर्न चाहान्छु भने अमुक रुपमा कोही व्यक्ति विशेषलाई खुइल्याउने, तत्काल कुनै रियाक्टको विषय बनाउने भन्दापनि संसदलाई बन्धक नबनाएर अगाडी लानुपर्छ । सहकारीका पीडितले न्याय पाउनुपर्छ त्यसकुरामा हामी कोही अस्पष्ट छैनौँ । तर सत्ता दाउपेचको बहश र मन्थनको विषय संसदलाई बनाइदिनु हुँदैन ।’

सांसद सापकोटाले संसदमा सबैको विचार, भावना र दृष्टिकोणहरुलाई बहश गर्ने वातावरण बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =