गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ, भागेर हिँड्न मिल्दैन : कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आफुहरुले सहकारी ठगि प्रकरणमा आफूहरुले कसैलाई दोषि करार नगरेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले आफूहरुले सहकारी ठगिमा कसैलाई दोषि करार नगरेको बताएका हुन् ।
‘कोहीसँग पूर्वाग्रह राखेर नेपाली कांग्रेस राजनीति गर्दैन । हामीसँग कसैसँग दोष छैन, ईष्र्या छैन । हामी कसैलाई फसाउन चाहादैनौँ उनले भने, ‘तर गल्ती छैन भने भन्न सक्नु प¥यो, मेरो केही गल्ती छैन । छानविन गरियोस् ।’
उनले काठमाडौं, बुटवल, पोखरा, भैरहवा र चितवनका सम्पूर्ण सहकारीबाट अर्बौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा जम्मा गरिएको र सो प्रा.लि.को प्रवन्ध निर्देशक रवि लामिछाने रहेको बताए ।
उनले सहकारीको सदस्य नभएको संस्थाले पैसा लिन नपाएपनि लगिएको भन्दै यसको संसदीय समिति बनाएर छानविन गर्नुपर्ने बताए । उनले कांग्रेसले कसैलाई फसाउन नचाहेको बताए ।
‘गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन ? संसदीय छानविन समितिका लागि सरकार किन भागेर हिँड्छ ?’उनले प्रश्न गरे,‘यदी गोर्खा मिडिया प्रा.लि.ले लिएको पैसा प्रवन्ध निर्देशक रवि लामिछाने हुँदा तिर्नु पर्दैन भन्ने फैसला र नजिर सरकारकहाँ छ भने त्यो हामीलाई देखाइयोस् । नभए निष्पक्ष छानविन समिति संसदबाट गठन होस् भनेर हामी माग गर्न चाहन्छौँ ।’
उनले नेपाली काँग्रेसले संसद अवरुद्ध गर्न नचाहेको बताए । कसलाई दण्ड र कसलाई न्याय दिने भन्ने फैसला सुनाउने अधिकार सरकारलाई नभएको बताए ।








