गृहमन्त्री जबरजस्ती पदमा बस्न खोजे : राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्नेतर्फ संकेत गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनैपनि प्रकरणमा प्रतिपक्षले छानबिन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै यस सहकारी प्रकरणमा पनि छानबिन समिति बन्नुपर्ने संकेत गरेका हुन् ।

उनले संसदमा प्रतिपक्षले उठाएका कुराहरू सुनिनुपर्ने बताए । उनले सत्तापक्षले जबरजस्त रुपमा संसद चलाउनु नहुने बताए । सांसद पाण्डेले संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने पनि बताए । उनले जबरजस्ती पदमा बस्न खोज्नुले बदमासी छ भनेर शंका गर्ने ठाउँ रहेको बताए ।

उनले भने ‘आरोप लागिसकेको मन्त्रीले आफू बाहिर हटेर त्यो आरोप हो, होइन क्लियर गरेर आफूलाई चोखिने अवसर पाउने हो । तर जबरजस्ती बस्न खोज्नु भनेको त्यहाँ केही बदमासी छ भनेर शंका गर्ने ठाउँ छ । ’

उनले मङ्गलवारको बैठकमा प्रमुख प्रतिपक्षले बोलिसकेपछि सत्ता पक्षको सांसदलाई बोल्न दिनु सभामुखको कमजोरी र अज्ञानता भएको बताए । उनले सभामुखले संसदमा दुई पक्षलाई लडाउने उपाय गरेको भन्दै त्यसो गर्नु नहुने बताए ।

सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतङ्क सिर्जना भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =