नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : शशांक कोईराला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शशांक कोईरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा उहाँले सहकारीको ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री लामिछानेले नैतिकताको आधारमा पनि सो पदमा बस्ने नमिल्ने टिप्पणी गरे ।
आफूमाथि लागेको आरोपको छानविनबाट स्पष्टिकरण पाए उहाँ फेरि मन्त्री बन्नसक्ने नेता कोईरालाको भनाई थियो ।
‘गृहमन्त्रीबारे आरोप होइन, त्यो सत्य कुरा हो नि । उसको माथि जुन आरोप छ । त्यसमा छानविन हुनुप¥यो । उहाँले पदबाट राजीनामा गर्र्नुप¥यो’उनले भने, उहाँको पदबाट राजीनामा भयो भने स्पष्टिकरण पाएपछि त उहाँले फेरी मन्त्री बन्न सकिहाल्नु हुन्छ नि । जबसम्म उहाँ आरोपित हुनुहुन्छ, उहाँले त्यो पदभार सम्हाल्न नैतिकताले दिँदैन ।’
उनले २०४६ सालपछिको सबै घोटाला काण्डको छानविन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको मागप्रति पनि आफूहरुको कुनै आपत्ति नरहेको बताए ।
नेता कोईरालाले संसदमा उच्चस्तरीय छानविन समिति बनाएर विगतमा भएका सबै घोटालाहरुको छानविन गर्न उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।
‘हामीले पनि त्यही भन्यौ कि एउटा उच्चस्तरीय पार्लियामेन्टरी कमिटी बनाउनु पर्छ । त्यो समितिले अरु कुराहरु पनि हेरिहाल्छ नि । होइन र ? एउटा समिति बनाएपछि त विभिन्न किसिमका कुराहरु आउँछन’ उनले थपे,‘अरु इस्युहरु पनि आईहाल्छ नि । त्यसमा हाम्रो केही आपत्ति छैन ।’
नेता कोईरालाले काँग्रेस कुनैपनि घोटाला प्रकरणलाई थाँति राखेर संसद चल्न दिने पक्षमा नरहेको पनि बताए ।








