राप्रपाले पनि माग्यो गृहमन्त्रीको राजीनामा (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।
राप्रपाको आन्दोलनमा प्रहरीले राप्रपाका नेता र कार्यकर्तामाथि लाठी चार्ज भएपछि सो पार्टीले गृहमन्त्रीको राजीनामा मागेको हो ।
मंगलवार काठमाडौंका विभिन्न ठाउँमा व्यवस्था फेर्न दबाबसहितको जनप्रदर्शन गरेको राप्रपाले प्रदर्शनका क्रममा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष राजेन्द लिङदेनले गृहमन्त्रीको राजीनामा आफ्ना मागहरुमा थपिएको बताएका हुन् ।
उनले गृहमन्त्रीले राप्रपाका कार्यकर्ताहरुलाई छानिछानि आक्रमण गर्न लगाएको आरोप लगाए । उनले निषेधित क्षेत्र भन्दा बाहिर प्रदर्शन गर्दा पनि पार्टीका नेता बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको बताए ।
‘गृहमन्त्रीले लक्षित गरेर निषेधित क्षेत्र भन्दा बाहिर रहनुभएका हाम्रा माननीय बुद्धिमान तामाङलाई आक्रमण गरी घाइते भएको कुरा छ उनले भने, ‘अब यो सरकारको बिरुद्ध यो गृहमन्त्रीको राजीनामाको माग लिएर फेरि आन्दोलन शुरु हुन्छ, दमनको बिरुद्ध अझ बलियो भएर लाग्छ ।’
उनले आफूहरुले अब सरकार र गृहमन्त्रीको राजीनामालाई पनि आफ्नो मागहरुमा समावेश गरेको बताए ।
उनले राप्रपाले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र संविधान विपरित रहेको भन्दै तोड्ने योजना बनाइ प्रदर्शन गर्दा प्रहरीले दमन गरेको बताए ।
‘निषेधित क्षेत्र मात्रै तोड्ने भनेका हौँ, कुनै तोडफोड गर्ने भनेका थिएनौँ । यो निषेधित क्षेत्र संविधानअनुसार छैन उनले भने, ‘संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको छ ।’
उनले सरकारले तोकेको निषेधित क्षेत्रहरु संविधान बमोजिम नरहेको र संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको बताए ।
४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो । सिंहदरबारअगाडिबाट माईतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो ।
उनले भने–‘४० बुँदे माग त छँदैछ, यो बर्बर दमन गर्ने र लखेटिलखेटि र छानीछानि आक्रमण गर्ने गृहमन्त्रीको राजीनामा थपिएको छ ।’








