नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरी पदमुक्त

सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छिन्। प्रदेश सभा सचिवालयले सोमबार सूचना टाँस गरेर गिरी पदमुक्त भएको जानकारी गराएको हो।

‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सोमबार प्रकाशित सूचनामा भनिएको छ।

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट समानुपातिक सांसद बनेकी उनलाई सो पार्टीले फिर्ता बोलाएको थियो। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच बढ्दो विवादका बीच गिरी फागुन २५ गते भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त भएकी थिइन्। उनी लगायतका मन्त्रीहरूलाई अध्यक्ष श्रेष्ठले फिर्ता आउन निर्देशन दिए पनि अवज्ञा गरेका थिए।

आफ्नो निर्देशन अवज्ञा भएपछि अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद चौधरी पक्षकी उनलाई फिर्ता बोलाइएको पत्र चैत २१ मा सुदूरपश्चिम प्रदेश सभामा पठाएकी थिइन्। पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठको भनाइ थियो।

श्रेष्ठले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा भने गिरीलाई पार्टीको केन्द्रीय कमिटीको निर्णय बमोजिम फिर्ता बोलाउने निर्णय भएकाले फिर्ता पठाइदिन अनुरोध गरिएको थियो। गिरीलाई पदमुक्त गरिएपछि नाउपाले तीर्थराज बोहराको नाम सिफारिस गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *