हुम्लाको अदानचुलीका स्वास्थ्य संस्थामा बिरामीको चाप

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा शनिबारदेखि सिजन फ्लु फैलिनुका साथै बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

गाउँपालिकाको वडा नं ५ र ६ मा सिजन फ्लुका बिरामीको अत्यधिक चाप बढेर उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको यहाँका स्वास्थ्यकर्मीले बताएका छन् ।

गाउँपालिकाको वडा नं ६ मा पर्ने लमही गाउँबाट फैलिएको सिजनल फ्लु रोकथामका लागि लौठी स्वास्थ्य चौकीमार्फत शिविर सञ्चालन भएर सामान्य रूपमा नियन्त्रणमा आए पनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगही गाउँमा नयाँ बिरामी देखापरेको लौठी स्वास्थ्य चौकीका इन्चार्ज नवराज भण्डारीले बताए ।

स्वास्थ्य चौकीमार्फत सञ्चालन भएको शिविरमा एक सय ४९ बिरामीको उपचार गरेको उनले बताए । लमहीमा नियन्त्रणमा आए पनि अन्य बस्तीमा फैलिएको इन्चार्ज भण्डारीले बताए । नियन्त्रणका लागि आफूहरू नियमित लागि पर्नुका साथै ओपिडीबाट सेवा दिइरहेको उनले जानकारी दिए ।

यस्तै गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्य चौकीमा केही दिनयतादेखि बिरामीको चाप बढ्दै गए पनि एक स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अन्य स्वास्थ्यकर्मी तालिमका लागि स्वास्थ्य संस्था बाहिर रहेको श्रीनगर स्वास्थ्य चौकीका निमित्त इन्चार्ज प्रयोगलाल जैसीले बताए ।

श्रीनगर स्वास्थ्य चौकीमा वडा नं ५ र ६ बाट बिरामी उपचारका लागि आउने भएकाले चाप बढेको निमित्त इन्चार्ज जैसीले बताए । एक दिनमा ५० देखि ८० बिरामी उपचारका लागि आउने गरेको उनले बताए । दैनिक ठूलो सङ्ख्यामा बिरामीको स्वास्थ्य चौकीबाट उपचार भइरहेको उनको भनाइ छ ।

जैसीले भने, ‘अहिले स्वास्थ्य चौकीमा औषधि प्रयाप्त मात्रा छ, रोग फैलिए पनि रोग नियन्त्रणका लागि गाउँपालिकाले औषधि सबै पुर्याएको छ ।’ अहिले औषधिको अभाव भने नभएको उनले बताए ।

पालिकाभित्र रहेका अन्य स्वास्थ्य चौकीमा पनि औषधि पर्याप्त मात्रामा रहेको उनको भनाइ छ । श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई रोग अरूलाई सर्न सक्छ भनेर नियमित मास्कको प्रयोग गर्न जोड दिनुका साथै वितरणसमेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *