सुनसरीमा कर्फ्यु खुकुलो पार्दै लगिने, पाँच बुँदे सहमति
काठमाडौं । सुनसरीको तनाव समाधानका लागि बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको छ । शुक्रबार हरिनगर गाउँपालिका केन्द्र भुटाहामा भएको दुई समुदायबीचको झडपले उग्ररूप लिँदा हरिनगरसहित पाँच स्थानीय तहमा त्यसको असर देखिएको थियो । जिल्ला प्रशासन कार्यालयले पाँच स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको थियो ।
केहीबेर अघि जिल्ला प्रशासन कार्यालय इनरुवामा सम्पन्न सर्वपक्षीय बैठकले घटनाको निन्दा गर्दै छानबिन गर्ने, दोषीमाथि कारवाही गर्ने, घाइतेहरूको निशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको प्रदेश सभा सांसद इस्राइल मन्सुरीले जानकारी दिए ।
‘बैठकमा हिजोको झडपमा सहभागीहरू, उनका आफन्त, दलहरू, प्रशासन, संघसंस्था, जनप्रतिनिधि सबै सामेल थिए,’ मन्सुरीले भने ‘तनाव साम्य पार्न सबैले सहयोग गर्ने सहमति भएको छ ।’
उनका अनुसार जिल्ला प्रशासनले लगाएको कर्फ्यु क्रमशः खुकुलो पार्दै लैजाने सहमति पनि भएको छ । ‘घटनास्थलको कर्फ्यु क्रमशः खुकुलो पार्दै लग्ने र अन्यत्रको चाहिँ खोल्ने सहमति पनि भएको छ,’ मन्सुरीले भने ‘आजबाट जिल्लाको अवस्था सामान्य बन्दै गएको छ ।’
हरिनगरमा दुई समुदायबीच भएको झडपले अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । शुक्रबार बिहानैबाट सुरु भएको हरिनगर तनावले निम्त्याएको झडपमा १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते भएका थिए ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगन्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेको थियो ।
हरिनगर ४ स्थित भुटाहामा दुई समुदायबीच झडप भएपछि शुक्रबार हरिनगरको केन्द्र तनावपूर्ण बनेको थियो । घटनास्थलमा प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो ।