माओवादी नेता कालीबहादुर खाम कारागार चलान

जिल्ला अदालत चितवनले माओवादी नेता कालीबहादुर खामलाई हत्या मुद्दामा पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

शुक्रबार न्यायाधीश दयाराम ढकालको इजलासले रामहरि श्रेष्ठको अपहरण तथा हत्याको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

श्रेष्ठको २०६५ वैशाख २८ गते तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन शिविर शक्तिखोरमा हत्या गरेर त्रिशुली नदीमा शव फालिएको थियो।

सोही घटनाको मुख्य योजनाकार खाम रहेको अनुसन्धानको निस्कर्ष छ।

घटना तेस्रो डिभिजन शिविरका डिभिजन कमाण्डर खामको निर्देशनमा भएको मृतककी श्रीमती रमिला श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन्।

उक्त घटनामा तत्कालीन तेस्रो डिभिजन शिविरका ब्रिगेड कमान्डर गोविन्द बटाला पक्राउ परेका थिए। तर उनलाई सर्वोच्च अदालतले सफाइ दिएको छ। श्रेष्ठलाई लगिएको गाडीका चालकलाई २० रुपैयाँ जरिवानाको फैसला भएको थियो। अरु प्रतिवादी फरार रहेको खाम केहीदिन अघि काठमाडौंबाट पक्राउ परेका थिए।

हत्यामा संलग्न भनिएका केशव अधिकारी र गंगाराम थापा भने अझै फरार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *