शिक्षामन्त्रीले आसेपासेलाई जागिर खुवाउने प्रपञ्च रचेको कांग्रेसको आरोप

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारीको नाममा आसेपासेलाई जागिर खुवाउने प्रपञ्चअन्तर्गत प्रशिक्षार्थी कर्मचारी सम्बन्धी कार्यविधि जारी गरेको आरोप लगाएका छन् ।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले शिक्षामन्त्री अमुक विद्यालयको प्रचारमा सीमित भएको बताए ।

उनले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्नु भनेको सरकारी कर्मचारीमाथिको अविश्वास भएको बताए । उनले कार्यविधि तत्काल खारेज गर्न माग गरे । उनले निःशुल्क शिक्षाको अधिकारको कुरा कागजमा मात्रै सीमित भएको बताए ।

उनले भने ‘निःशुल्क शिक्षाको अधिकारको कुरा कागजमा मात्रै सीमित भएको अवस्था छ । अनेक स्टन्ट गर्ने शिक्षामन्त्री कुनै अमुक विद्यालयको मात्रै प्रचार गरिरहनुभएको छ । उहाँले अभिभावकको दुःख देख्नुहुन्न । विद्यालयमा भर्ना भएको नाममा लुट देख्नुहुन्न, विद्यालयमा छात्रवृत्तिमा पहुँचवालाका कारण वास्तविक लक्षित वर्ग वञ्चित भएको देख्नुहुन्न । अरु कसरी चोर बाटोबाट कर्मचारी भर्ना गर्न सकिन्छ भन्नेमात्र ध्यान उहाँमा रहेको छ । त्यसैले उहाँले हालै प्रशिक्षार्थी कर्मचारी सम्बन्धी कार्यविधि जारी गर्नुभएको थियो । यो प्रशिक्षार्थीको नाममा आफ्नो आसेपासेलाई जागिर खुवाउने प्रपञ्च मात्रै हो । यो सरकारी कर्मचारीमाथिको अविश्वास हो । यो कार्यविधि खारेज होस् ।’

सांसद बस्नेतले सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले देशमा प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षक आफैँ न्यायाधीश बन्ने गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =