नेपाललाई मकैमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम अघि बढाइने : कृषिमन्त्री

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रुपमा रहेको बताए ।

उनले मकैलाई प्रोत्साहन हुनेगरी र वास्तविक किसानहरूलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभूति दिनेगरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताए ।

उनले नेपालमा मकैको उत्पादन डरलाग्दो रुपमा घटिरहेको जिकिर गरे । उनले सरकारले बनाइरहेको कृषि नीतिमा कृषि बालीहरूलाई प्रोत्साहन दिनेगरी कार्यक्रमहरू ल्याउने र मकैलाई बढुवा दिनेगरी नीति निर्माण गरिरहेको बताए । उनले नेपाललाई मकैमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम अघि बढाइने बताए ।

उनले भने ‘मकैको बारेमा मैले ब्रिफिङ लिएँ, स्थिति एकदम भयानक अवस्थामा दुर्घटना हुने अवस्थामा छ । अहिले हामी कृषि नीति बनाएको पनि अवस्था छ । जसको नेतृत्व मैले आफैँ गरिरहेको छु । जहाँ २०१५ देखि २०३५ सम्मको कृषि नीति । कृषि नीतिले यस्तो खालको उद्देश्य बोकेको छ, त्यो उद्देश्य यो मकैलाई कृषिमा जतिपनि बालीहरू हुन्छ, कम्तीमा प्रोत्साहन दिनेगरी कार्यक्रमहरू ल्याउने र यो मकैलाई बढुवा दिनेगरी जहाँ नेपालमा जतिपनि खालि जग्गाहरू छ, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग तीन वटै सरकारसँग जो हामी तीन खम्बे नीतिमा अघि बढ्ने प्रयासमा छौँ । तीन खम्बे नीति जहाँसम्म लाग्छ, निजी, सरकारी, सहकारीको हिसाबले भन्ने हो भने कडाईका साथ कोर्डिनेशन दरोका साथ हामीले हातमा हात मिलाएर जान सकेनौँ भने यो समस्या विकराल बन्ने स्थिति छ । त्यसैले अघि नै यो नीतिलाई जोडतोडका साथ अघि बढाउने गरी सम्मेलनबाट सुझाव लिएर अघि बढ्न जरुरी छ । मकैमा आत्मनिर्भर कसरी बनाउने नेपाललाई, त्यसका लागि के काम कारबाही अघि बढाउनुपर्छ ? त्यसमा हामीले जोड दिनुपर्छ ।’

मन्त्री साहले मकै अहिले ९ लाख ८५ हजार हेक्टरमा मकै उत्पादन भइरहेको बताए । वास्तविक किसानलाई पहिचान गरी १२ वर्षको लागि सहुलियत ऋण दिने व्यवस्था गर्न आवश्यक रहेको बताए । मकैको उत्पादन वृद्धि गरी बजारीकरण गर्न आवश्यक रहेको बताए । मन्त्री साहले कृषि उत्पादनको बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *