कांग्रेसले गर्‍यो अल्टिमेटम सकिएको घोषणा, आगामी बैठक चल्न नदिने

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानबिन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको घोषणा गरेका हुन् ।

उनले विगतमा संसद अवरुद्ध भएको र तोडफोड समेत भएको आफूहरूले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालीनता कमजोरी लाग्यो भनेर प्रश्न समेत गरे । उनले आगामी संसद बैठकमा आउँदा संसदीय छानबिन समिति बनाएर आउन सरकारलाई अपिल गरे । नेपाली काँग्रेस संसदीय छानबिन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उनको भनाई छ ।

उनले भने – ‘संसद चलेन । संसद अवरुद्ध भयो । हामीले कसरी–कसरी संसद नचलेको हेरेका छौँ । संसद अवरुद्ध भएको हेरेका छौँ । संसदमा तोडफोड भएको हेरेका छौँ । आज प्रमुख प्रतिपक्षको विनम्रता, शालीनता कमजोरी लाग्यो ? के प्रतिपक्षले उठाएका प्रश्न गलत लाग्यो ? त्यसैले अब आजको बैठक पछाडि सरकारलाई अपिल छ । आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय छानबिन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँ न बायाँ हामी उभिने छैनौँ ।’

सांसद शर्माले मलेसियाको कानुनमा कुनैपनि देशको कोही अभियुक्त भएमा सम्बन्धित देशले कूटनैतिक प्रक्रियाबाट माग गरेमा सुपुर्दगी गर्न सकिने उल्लेख गरिएको पनि उनले बताए । उनले किन जिबि राईलाई ल्याउन ढिलाइ भएको हो भनी प्रश्न गरे । उनले जिबि राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको सूचना आफूहरूसँग रहेको पनि बताए ।

उनले भने ‘गृहमन्त्री प्रतिपक्षमा हुनुहुन्थ्यो उहाँले खरो स्वरमा बोल्नुभयो र भन्नुभयो कि सरकारले जिबि राईलाई पक्राउ गर्न चाहेन । सरकारले जिबि राईलाई खोज्नै चाहेन । आज बोल्दै गर्दा भनिदिनु भयो आकाशमा होलान् । पातलमा होलान् । हामी लिएर आउँछौँ । मलेसियामा छन् दुनियाँलाई थाहा छ । प्रहरी प्रमुखले सुपुर्दगी सम्बन्धी कानुन छैन भनेर भन्नुभयो । म गृहमन्त्रीजीलाई मलेसियाको कानुन पढाउन चाहन्छु, मलेसियाको कानुनमा भनिएको छ, यदि कुनैपनि देशको कोही अभियुक्त छ भने सम्बन्धित देशले कूटनैतिक प्रक्रियाबाट माग गर्यो भने सुपुर्दगी गर्न सकिन्छ । जिबि राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ? खोज्ने काम सरकारको निकायले गर्दा तर हामीले पाएको सूचनाअनुसार जिबि राई गृहमन्त्रीजीको सम्पर्कमा हुनुहुन्छ । आकाशमा गएर लुक । पातलमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा भएको तथ्यमा हामी पुगिसकेको तथ्यलाई पनि म राख्न चाहन्छु ।’

उनले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको सहमति बिना अथवा कार्यव्यवस्था परामर्श समितिको सहमति बिना संसद बैठक सञ्चालनका लागि कार्यसूची नराख्न सभामुखलाई आग्रह पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *