कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिन माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्ने बताएकी छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्ति सहितको विशेष बजेट दिनुपर्ने बताएका हुन् । उनले विगतमा असन्तुलित बजेट आउने गरेको भन्दै यस पटक सन्तुलित बजेट ल्याउन माग गरे । उनले सरकारले कर्णालीका पाँच जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि सो अनुरूपको बजेट व्यवस्थापन र कार्यक्रमहरू लागू हुन नसकेको बताए ।
उनले भने ‘हामी कृषिप्रधान देशमा हुर्केका । मार्सी चामल, फापर, गहुँ पिठो, जौँ, मकै, आलु खाएका व्यक्तिहरूलाई बजेट सन्तुलन नगरी ल्याउने नीति छ, जुन कार्यक्रम छ । अबको दिनमा फेरिपनि संशोधन हुनुपर्छ जस्तो लाग्छ । हामी कर्णालीले चाहेको जस्तो बजेट र क्षतिपूर्तिसहितको विशेषखालको बजेट ल्याइनुपर्छ भन्ने म माग राख्न चाहन्छु ।’
उनले खेतीपातीको सिजन सुरु हुन लागेको भन्दै खेतिबाली र पशुपंक्षीमा लाग्ने विभिन्न रोगहरूको नियन्त्रणका लागि सरकार अहिलेदेखि नै सचेत हुनुपर्ने बताए ।








