शिक्षामन्त्रीलाई पाण्डेको प्रश्न– जे मनलाग्यो त्यही निर्णय गर्न पाइन्छ ? (भिडिओ)


काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रशिक्षार्थी कर्मचारी भर्ना सम्बन्धि कार्यविधि ल्याउनुको कारणबारे संसदलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग माग गरेका छन् ।
कुनै ऐनलाई पनि नटेकी निजामती कर्मचारीमाथि नकारात्मक प्रभाव पर्नेगरी उनले मन्त्रीस्तरीय निर्णय गरेर एजुकेशन क्याटलिस्ट परिचालनसम्बन्धि कार्यविधि २०८० ल्याएको उल्लेख गर्दै उनले त्यसबारे संसदलाई जानकारी गराउनका लागि मन्त्री श्रेष्ठलाई रुलिङ गर्न पनि सभामुखको ध्यानाकर्षण गराए ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले मन्त्रीहरुलाई आफूखुशी काम गर्न छुट दिएको हो ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न समेत गरे ।
उनले मन्त्रालयको कतिपय शाखाहरु काम विहीन रहेको अवस्थामा प्रशिक्षार्थी कर्मचारी राखेर काम गर्नुपर्ने कारण के हो भन्ने जिज्ञासा उठेको पनि बताए ।
उपाध्यक्ष पाण्डेले प्रशिक्षार्थी कर्मचारीलाई सेवा सुविधा दिने कि नदिने भन्ने कुरा स्पष्ट पार्न पनि शिक्षामन्त्री श्रेष्ठलाई सचेत गराए ।
