रास्वपाका उपसभापति र सहमहामन्त्रीले सहकारी ठगेको आरोप


काठमाडौं । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि मुछिएका छन् ।
नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा गृहमन्त्रीसहित उनीहरूको पनि संलग्नता रहेको बताएका हुन् ।
उनीहरूले हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय छ’उनले भने‘सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि अस्वाभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जीवी राईलाई भित्र्याइएको छ । त्यो काम श्रम मन्त्रीको हो भन्ने छ । यो सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ । निष्पक्ष छानबिन आवश्यक छ । संसदीय समिति बनाऔँ ।’
रास्वपाका यी दुई नेताहरूमाथि पनि निष्पक्ष छानबिन गर्न उनले माग गरे । उनले छानबिनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरेका छन् ।
उनले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउने कुरा नेपाली काँग्रेसको अनिवार्य शर्त भएको स्पष्ट पारे ।
