सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गर्यो : प्रतिमा गौतम

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गरेको बताएकी छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले सरकारले सहकारी पीडितहरूलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरूको पक्षमा वकालत गरेको बताएका हुन् ।

उनले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसदमा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको बताए । उनले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालयपनि आफैँ भएर प्रस्तुत भएका पनि बताए ।

सांसद गौतमले गृहमन्त्री लामिछानेले आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्णपत्रमा लेख्ने चलन नभएको बताए । उनले सत्ता गठबन्धनका नेताहरू सहयात्री दलका नेतालाई गुमाउनुपर्छ कि भनेर त्रासमा रहेका बताए । सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको उनको भनाई छ ।

उनले भने – ‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीज्यूलाई गुमाउनुपर्छ कि भन्ने बडो मानसिक पीडामा सरकार रहेको देखियो । त्रसित भएको देखियो । सत्ता साझेदार दलका नेताहरू एउटा व्यक्तिलाई बचाउनु नै आफ्नो धर्म हो भन्ने ठानेझैँ सतिसालझैँ उभिनुभयो । हामी बुझ्दछौँ, सरकार टिकाउनुपर्ने अवस्था छ । सरकारभित्रका बाध्यता होलान् । तर सरकारका मुखिया र गठबन्धनका नेताहरूको कुरा सुन्दा लाग्छ, उहाँहरू सबै आइ एम द स्टेट भन्ने तथ्यमा पुग्नुभएको छ । उहाँहरू कार्यकारी पनि आफैँ हुनुहुन्छ । न्यायालय पनि आफैँ हुनुहुन्छ । वादी, प्रतिवादी दुवै आफैँ हुनुहुन्छ । अनि फैसला पनि सुनाउनुहुन्छ । आफ्नो अनुकूलमा उहाँहरुले आफ्नो फैसला सुनाउनुहुन्छ । सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामा भन्दा उनीहरूलाई घर न घाटको बनाउने सहकारी ठगहरूको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्यत भएको देखिन्छ । प्रधानमन्त्रीज्यू यही संसदमा आएर गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको उजुरी कानुनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला दिनुहुन्छ । मानौँ, वासिङ मेसिनमा राखेर सफा, चट्ट पारेर निकालेको जस्तो गरेर बोल्नुहुन्छ । आरोपित गृहमन्त्रीज्यू आफूविरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ । उजुरी त कागजमै लेख्ने होला नि । ताम्रपत्रमा कि स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो नि ।’

उनले सहकारी समस्या छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताए । संसदीय समिति बनाउने प्रतिपक्ष दल काँग्रेसको मागलाई सहजतापूर्वक स्वीकार गर्न सबै दलहरूलाई उनको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twenty =