गृहमन्त्रीमाथि छानबिन समिति गठन गर्नुको विकल्प छैन : बद्रि पाण्डे

काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले सरकारले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुको विकल्प नरहेको बताएका छन् ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेसले संसदमा विषयवस्तु राख्न दिएको कुरालाई पछि हटेको भन्ने नसोच्न सरकारको ध्यानाकर्षण गराए ।

उनले सरकारबाट संसदीय समिति गठन गर्ने कुनै प्रयास र सहमति नभएको जिकिर गरे ।

उनले काँग्रेसको उक्त माग सरकारले नसुनेको खण्डमा कठोर ढंगले प्रस्तुत हुने चेतावनी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीलाई क्लिन चिट दिनुले पनि झनै शंका उब्जिएको बताए ।

उनले भने ‘सहमति भएको छैन, सरकारबाट कुनै प्रयास पनि भएको छैन । समिति बनाउने कुरालाई हामीले आज पनि यथावत राखेका छौँ । सरकारले सुन्दैन भने यो भन्दा अगाडि बढेर अझ हामी कठोर ढंगले प्रस्तुत हुन्छौँ । संसदीय समिति गठन गर्नुको विकल्प छैन । किनभने प्रधानमन्त्रीले पनि क्लिन चिट दिनुभएको छ, प्रहरी प्रमुखले पनि समितिमा पुगेर क्लिन चिट दिनुभएको छ, यसको मतलब सरकार र सरकारका निकायबाट अनुसन्धान हुन सक्दैन, हुँदैन भन्ने पुष्टि भएको छ । अनुसन्धान गर्नुपर्ने निकायले नै अनुसन्धानको ढोका बन्द गरेपछि अब संसदीय समितिबाट छानबिन गर्नुको विकल्प रहेन । यो पछिल्लो घटनाक्रमले झनै संसदीय समिति गठन गर्नुपर्ने र संसदीय छानबिन समितिबाटै छानबिन हुनुपर्ने औचित्य बढेको महसुस भएको छ ।’

उनले अनुसन्धान गर्नुपर्ने निकायले नै अनुसन्धानको ढोका बन्द गरेपछि अब संसदीय समितिबाट छानबिन गर्नुको विकल्प नरहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =