‘काँग्रेसले गृहमन्त्रीमाथि मिथ्या आरोप लगायो, छानबिन समिति बन्दैन’ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति तथा सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नेपाली काँग्रेसले मिथ्या आरोप लगाएको बताएका छन् ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाली काँग्रेसलाई संसदीय छानिबन समिति बन्दैन भन्ने जानकारी हुँदाहुँदै पनि संसदमा अवरोध झिक्ने काम गरिरहेको बताए ।

उनले सबैभन्दा बलियो मत दिएर जिताएको व्यक्तिमाथि मिथ्या आरोपका भरमा काँग्रेसले राजनीतिक, सांस्कृतिक अधिकारलाई संकुचित गर्नु नहुने बताए ।

‘जहाँसम्म समितिको कुरा छ, यो मिथ्या आरोपको भरमा एउटा व्यक्तिलाई जो सबैभन्दा बलियो जनमत लिएर आएको छ, जो यो देशको प्रमुख पार्टीहरुमध्ये एउटा शिर्षस्थ नेता हो’उनले भने‘त्यो मिथ्या आरोपका भरमा उसका राजनीतिक, सांस्कृतिक अधिकारलाई संकुचित गर्नु हुँदैन । हामी समिति बनाउँदैनौँ भन्नेकुरा नेपाली काँग्रेसलाई स्पष्टसँग थाहा छ । यो समिति बनाइराख्नुपर्ने कुरा भएन ।’

उनले गृहमन्त्रीमाथि छानबिन समिति बनाइरहनुपर्ने आवश्यकता नरहेको जिकिर गरे ।

उनले गृहमन्त्री लामिछानेमाथिका प्रश्नको जवाफ दिन काँग्रेसले संसदमा मौका दिनुपर्ने बताए । उनले आफूमाथि उठेका प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछाने तयार रहेको पनि बताए ।

‘नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि जुन प्रश्न उठ्यो’उनले भने ‘त्यो प्रश्नको जवाफ दिन गृहमन्त्री तयार हुनुहुन्छ । त्यो मौका उहाँले दिनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *