बाल सुधारगृहमा तत्काल पठनपाठनको व्यवस्था गर्न सांसद थिङको माग
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक सुशीला थिङले बाल सुधार गृहमा पठनपाठनको पनि व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।
युसेपले सञ्चालनमा ल्याएका बाल सुधार गृहमा पठनपाठनको व्यवस्था भएको उल्लेख गर्दै उनले सरकारले सञ्चालनमा ल्याएका बाल सुधार गृहमा पनि पठनपाठनको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका हुन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बाल सुधार गृह बाल सुधार हुने खालको नभएको औँल्याउँदै त्यसको भौतिक संरचनामा नै सुधार गर्न पनि सरकारलाई सचेत गराए । सचेतक थिङले क्षमताभन्दा बढी बालबालिकाहरू सुधार गृहमा राख्ने काममा सरकार आफैँ संलग्न भएको आरोप समेत लगाए ।
उनले भने ‘५० जना क्षमता भएको ठाउँमा २२२ जना बालकहरू रहेका छन् । त्यसमा ११८ जना १८ वर्ष माथिका बालकहरू रहेका छन् । अब हामीलाई थाहा छ । विगतमा बाल सुधार गृहहरूमा घटना घटेको । अब ती बालकहरूलाई तत्काल नेपाल सरकारले अलग नराखेमा त्यहाँ धेरै घटनाहरू घट्न सक्नेछ भन्ने कुरा बुझ्न जरुरी छ । त्यसकारण म नेपाल सरकारलाई के भन्न चाहन्छु भने यो विषयमा गम्भीर ध्यान जाओस् । अर्को कुरा पनि म के भन्न चाहन्छु भने बाल सुधार गृहमा रहेका बालकहरू कसरी बसेका छन् भन्दा सानो कोठामा खाटमुनि पनि सुतिरहेको अवस्था छ । यस्तो अवस्थामा बाल सुधार गृह बन्न मिल्छ ? नेपाल सरकारले तत्काल बाल सुधार गृहको भौतिक संरचना नबदल्ने हो भने यो सुधार गृह हुनेवाला छैन । त्यसकारण मैले आज यो कुरा उठाइरहेको छु । नेपालमा जम्मा ८ वटा बाल सुधार गृह छन् । त्यसमा नेपाल सरकारबाट सञ्चालित ४ वटा सुधार गृह छन् । र युसेपबाट सञ्चालित ४ वटा रहेकोमा त्यहाँ विद्यालयसहितको सुविधा छ भने नेपाल सरकारबाट सञ्चालित सुधार गृहमा त्यो छैन । त्यसकारण यो विषयमा पनि बाल सुधार गृहमा तत्काल विद्यालय पनि संचालन गर्नुपर्छ भन्ने माग राख्न चाहन्छु ।’
सचेतक थिङले विद्यमान बाल सुधार गृहको संरचना नबदल्ने हो भने त्यसलाई सुधार गृह भन्न मिल्ने अवस्था नरहेको जिकिर पनि गरे ।