सांसद पन्तको प्रश्न- ‘भारतीय ट्रकलाई मात्रै नेपालमा छुट दिनुपर्ने कारण के ?’

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गरेका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालको ट्रक उद्योगनै बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले भारतीय ट्रकलाई नेपालमा निर्बाध रुपमा सञ्चालन हुने कुरामा रोकावट नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे । अविलम्ब भारत सरकारसँग कुरा गरेर सरकारले नेपालको ट्रक व्यवसायीहरूको हितको लागि पनि भारतीय ट्रकलाई निर्बाध रुपमा प्रवेश गर्न दिने कुरा रोक्नुपर्ने सांसद पन्तको भनाई थियो ।

उनले नेपालको ट्रक भारतमा निर्बाध रुपमा सञ्चालन गर्न नपाउने तर भारतीय ट्रकले नेपालमा ७२ घण्टासम्म रहने पाउने व्यवस्था कुनैपनि हिसाबले राष्ट्रको हितमा नभएको जिकिर गरे । भारतीय ट्रकको नेपालमा खुला प्रवेशले नेपालका ट्रक व्यवसायीहरू मारमा परेको र उनीहरूको रोजगारी समेत खोसिएकोप्रति सरकार गम्भीर नभएको सांसद पन्तको आरोप समेत लगाए ।

उनले भने ‘नेपालको ढुवानी क्षेत्र अप्ठ्यारोमा परेको छ । र यो खतरामा पर्नुमा मूल कुरा भारतीय ट्रकमाथि हामीले नियमन गर्न नसक्दाको हो । जसरी भारतीय ट्रकले नेपालमा छुट पाएको छ । त्यस्तै छुट भारतमा पनि हामीले पाउनुपर्यो । हाम्रा ट्रकहरू पनि भारतमा निर्बाध रुपमा गएर समान ल्याउन र लैजान पनि पाउनुपर्यो । यदि त्यो अधिकार नेपाली यातायात व्यवसायीहरूले पाउँदैनन् भने, हाम्रा ट्रक व्यवसायीहरूले पाउँदैनन् भने भारतीय ट्रकलाई मात्रै नेपाली बजारमा छुट दिनुपर्ने कारण के ? सरकारले यसको जवाफ दिनुपर्छ । र यसलाई रोक्नु पर्छ । नेपालको ढुवानी उद्योगलाई जर्गेना गर्नु पर्छ । यो आज मात्र आएको समस्या होइन । यस अघि पटकपटक बनेका सरकारले ध्यान दिएन । तर अव यो समस्या एकदम जटिल भइसक्यो । यसले राष्ट्रिय उद्योगमा नै समस्या खडा गर्ने अवस्था आइसक्यो । त्यसकारण अविलम्ब नेपाल सरकारले यो विषयमा ध्यान दिएर सम्बन्धित मन्त्रालयले भारतीय अधिकारीहरूसँग वार्ता गर्नुपर्छ भनेर गरेर भारत भित्र भारतीय ट्रकले र नेपालमा आएपछि नेपाली ट्रकले त्यो समान ओसार्ने व्यवस्था गर्नुपर्छ । नेपालको ढुवानी व्यवसायको जर्गेना गर्ने काममा सरकारले ध्यान देओस् ।’

सांसद पन्तले नेपालको ढुवानी उद्योगको जगेर्ना गर्न पनि सरकारले भारतीय ट्रकमाथि नियमन गर्नुपर्ने आवश्यकता —औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =