शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाऔँ : देवेन्द्र पौडेल


काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गरेका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई बार्गेनिङको विषय नबनाउन दलहरुलाई आग्रह गरेका हुन् ।
उनले संसद भित्रका दलहरु सत्तापक्ष र प्रतिपक्षमा पालोफेरो हुने गरेका भन्दै संविधानले निर्दिष्ट गरेका कानूनहरु बनाउने कुरामा सबै एकै ठाउँमा हुनुपर्ने बताए ।
उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगसँग सम्बन्धित विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताए ।
त्यस्तै शिक्षा ऐन, निजामती कर्मचारी ऐन, वन, प्रहरी र भूमिसँग सम्बन्धित ऐनलाई पनि छिटोभन्दा छिटो ल्याउनुपर्ने बताए ।
उनले संसदलाई कटाक्ष गर्ने थलो नबनाई जनतामा परेका समस्या समाधान गर्ने परिणाममुखी थलो बनाउनुपर्ने बताए ।
