तस्करी नियन्त्रण गर्न गृह मन्त्रालय निर्मम छ : गृहमन्त्री लामिछाने


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताएका छन् ।
शनिवार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनलेसीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दाबी गरेका हुन् ।
उनले आम नागरिकको शान्ति सुरक्षा आफूहरुको चासोको विषय रहेको बताए । उनले इलाममा लागुऔषधमा निकै ठूलो समस्या र चुनौति रहेको बताए ।
उनले इलाममा डरलाग्दो आत्महत्याको तथ्यांक आएको भन्दै यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले स्थानीय र राष्ट्रिय चुनौतिहरुसँग जुध्नको लागि सबै प्रतिवद्ध हुन जरुरी रहेको बताए ।
उनले भने– ‘पछिल्लो समय गृह मन्त्रालय एकदम निर्मम भएर अघि बढिरहेको छ । यस बीचमा आम नागरिकको दैनिकीसँग आवश्यक रहेका सरसामानको खरिद र त्यसका लागि आउने जाने कुरा र तस्करीको बीचको एउटा लाइन असाध्यै पातलो छ । यसलाई बुझ्न अत्यन्तै जटिल छ । कतिपय अवस्थामा धेरै मानिसहरुले थोरै सामान ल्याएर धेरै तस्करी गर्ने पनि चलेको छ । हेर्दा एउटा मान्छेले उक किलो चिनी लिएर आएकोमा पनि के आँखा लगाएको होला भन्ने होला । जस्तो एउटा बोरा चामलको लागि लछारपछार गरेको, भिडियोको सन्दर्भमा तपाईहरुले उठाउनुभएको हुन्छ, तर त्यसको वास्तविकता फेरि अर्कै हुन्छ । तर त्यो बोरा भित्र मोबाइलका पार्ट्सहरु थिए । यी सबै कुरामा निर्मम ढंगले हामीले काम गर्नुपर्छ । काम गर्दै जाँदा शतप्रतिशत सही गराउन गाह्रै हुन्छ । चाहे बोर्डरमा होस्, एयरपोर्टमा होस् जहाँ पनि होस्, तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम छ । यो पदबहाल गरेदेखि नै मैले स्पष्ट भनेको छु । आम नागरिकको शान्ति सुरक्षा हाम्रो चासोको विषय हो । लागुऔषधमा निकै ठूलो समस्या र चुनौति यहाँ देखिएको छ । इलाममा डरलाग्दो गरी आत्महत्याको तथ्यांक आएको छ । यसको अध्ययन नै गर्नुपर्ने अवस्था देखिएको छ । स्थानीय र राष्ट्रिय चुनौतिहरुसँग जुध्नको लागि हामी प्रतिवद्ध हुनैपर्छ । हामीले आफ्नो राजनीतिको भविष्यको प्रवाह नगरी सिंगो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आएका हौँ ।’
उपप्रधानमन्त्री लामिछानेले राजनीतिको भविष्यको प्रवाह नगरी सिंगो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आफूहरु सरकारमा आएको बताए ।
