सरकारले सहकारी ठगहरुलाई संरक्षण गरिरहेको छ : नेता केसी
काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताए । उनले अहिल राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ अघि बढिरहेको जिकिर गरे ।
‘अहिले देशव्यापी रुपबाट सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको छ । राज्य त्यसलाई संरक्षण गर्ने, कारबाही भन्दा संरक्षण गर्नेतिर लागेको छ’उनले भने‘यो किसिमको परिस्थितिमा यो संस्था, जुन संस्थामा हामी सबै आवद्ध छौँ, यसलाई एकदम निष्कलंक बनाउँदै एउटा लक्ष्यमा पुग्नुपर्छ ।’
उनले नागरिकहरुमा निराशा छाएको बताए । उनले जनतामा निराशा र अनुन्तुष्टि आइरहेको भन्दै बिस्तारै समाज बिद्रोह र अराजकतातिर उन्मुख भइरहेको बताए ।
उनले अहिले सरकार सरकार जसरी र संसद संसद जसरी सञ्चालन हुन नसकेको बताए ।
‘अहिले यो जटिलतापूर्वक राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ उन्मुख छ, आम जनतामा निराशा छ । त्यो निराशा र अनुन्तुष्टि बिस्तारै बिद्रोह र अराजकतातिर उन्मुख भइरहेको छ’उनले भने ‘अहिले वास्तवमा संसद संसदजस्तो चलिरहेको छैन, सरकार सरकार जस्तो चलिरहेको छैन, पार्टी, पार्टी पार्टी जस्तो चलिरहेको छैन, यो अराजकतापूर्ण स्थिति जो देशमा देखिएको छ, त्यसले बडो निराशा र अराजकताको स्थिति सिर्जना गरेको छ ।’