मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो ।

अन्य मुद्दामाथि समेत दुई पक्षलाई बोलाएर छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार माघ ११ गतेदेखि गृह मन्त्रालयको निर्देशनअनुसार अनुचित लेनदेनका निवेदन प्रहरीले हेर्न थालेको हो ।

सो क्रममा १६ लाख बराबरका निवेदनमा मिलापत्र भएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा ८६ निवेदनमध्ये २३ निवेदन कार्यालयले प्रहरीमा नआउँदै मिलापत्र गरेको थियो । भण्डारीका अनुसार अहिले प्रहरीले अनुचित लेनदेनका निवेदन नियमित लिने गरेको छ । निवेदनमाथि छलफल गराउँदा अनुचित ठहरिए सोहीअनुसार अघि बढ्ने र छलफलका क्रममा मिलापत्र भए मिलापत्र गर्ने गरेको उनले बताए ।

प्रहरीमा निवेदन आएसँगै अहिलेसम्म कुनै पनि मुद्दा अदालतमा नगएको उनले जानकारी दिए । उनले भने, ‘हामी छलफलबाट समस्या समाधानका लागि लाग्छौँ, नमिलेको खण्डमा मात्रै मुद्दा दर्ता प्रक्रियामा अघि बढाउँछौँ ।’ बाँकी रहेका निवेदनमा समेत वादी र प्रतिवादी बोलाएर छलफल गराउने क्रम जारी रहेको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *