‘चार्जिङ स्टेसनमा लगानी बढाउनुस्’ – कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन् ।

बिहीबार काठमाडौंमा याडिया जि—६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेसन राखेको भएपनि अहिलेसम्म आइसक्दा विद्युत् प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरूमा करिब ४ सय वटा फास्ट चार्जिङ स्टेसन राखिएको बताए ।

उनले एकै ठाउँमा चार्जिङ स्टेसनहरू बढी भएकाले यस सम्बन्धी नीति बनाइदिन लगानी कर्ताहरूले आग्रह गरिरहेको बताए । धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म धेरै सङ्ख्यामा चार्जिङ स्टेसन बनेको बताए । उनले चार्जिङ स्टेसनमा गरिएको लगानी पेट्रोल पम्पमा गरिने लगानी भन्दा ठूलो हुने बताए । उनले प्राधिकरणले चार्जिङ स्टेसनबाट नाफा कमाउन नभई प्रोत्साहनका लागि लगानी गरिरहेको बताए । उनले प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भएपनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको बताए ।

उनले भने ‘सुरुमा हामीले प्रमोसनका लागि । वास्तवमा त्यो बेला कतै पनि चार्जिङ स्टेसन थिएन । हामीले प्रमोसनका लागि ५१ वटा फास्ट चार्जिङ स्टेसन, विद्युत् प्राधिकरणले राखेको थियो । त्यसलाई थपेर देशभर विभिन्न ठाउँमा ६२ वटा बनायौँ । अहिले निजी क्षेत्र र विद्युत् प्राधिकरण गरी करिब ४ सय वटा फास्ट चार्जिङ स्टेसन देशभर रहेका छन् । कुनै ठाउँमा फास्ट चार्जिङ स्टेसन राख्ने लगानीकर्ताहरूले पोसिली बनाइदिनुपर्छ, एकै ठाउँमा धेरै चार्जरहरु आयो, हाम्रो चार्जर फुल क्यापासिटीमा चल्नुपर्ने थियो, चलेन भन्नेसम्म भएको छ । यो धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म छ । म एउटा आह्वान के गर्न चाहन्छु भने सबै लगानी कर्तालाई फास्ट चार्जिङ स्टेसनमा सबैले लगानी गर्नुपर्छ । यो लगानी अर्को ठूलो लगानी हो । यो पेट्रोल पम्प भन्दा ठूलो लगानी यो फास्ट चार्जिङ स्टेसनमा आउनुपर्छ । फास्ट चार्जिङ स्टेसनको लगानी भनेको मल्टी डाइरेक्शन लगानी हुन्छ । त्यो एउटा ठूलो चेन बिजनेस बन्छ । यसमा निजी क्षेत्र आउनुपर्छ, निजी क्षेत्रलाई ओपन गर्नुपर्छ भनेर गरिरहेका छौँ । हामीले फास्ट चार्जिङ स्टेसनबाट कमाएका छैनौँ, गुमाएका छौँ । हामीले राति चार्ज गर्दा ५ रुपैयाँ, ७५ पैसा दिएका छौँ, हाम्रो कस्ट नै ९ रुपैयाँसम्म पर्छ । यो प्रमोसनका लागि हो । हाम्रो बेसिक प्राइज हामीले हाम्रो कस्ट भन्दा पनि कममा दिएका छौँ ।’

उनले अबको पुस्ताले इलेक्ट्रिसिटीमा सबै काम गर्नेगरी विकास गर्न आवश्यक रहेको बताए । ‘इलेक्ट्रिफाइ योर लाइफ’ सबैको नारा बन्नुपर्ने बताए । याडिया जि—६ मा ३ किलोवाटको मोटर र २।७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ । यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ । यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ । फुल चार्ज हुँदा १५० किलोमिटर गुड्ने बताइएको छ ।

फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ । फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता छन् । कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी दिएको छ । याडिया जि—६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *