दुई/चार दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताएका छन् ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वाभाविक रुपमा प्रदेशमा पनि सरकारहरू बन्ने प्रक्रिया सुरु हुने बताए ।

उनले सत्तामा रहेका पाँच राजनीतिक दलहरूले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरूमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने सम्भावना रहेको बताए । उनले सत्तामा सहभागी दलहरुबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने बताए ।

उनले भने ‘केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वाभाविक रुपमा प्रदेशमा पनि सरकारहरू बन्ने प्रक्रिया सुरु हुन्छ । सत्तामा रहेका पाँच राजनीतिक दलहरूले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरूमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने सम्भावना रहेको छ । त्यो हिसाबले पनि हामीले प्रयासहरू गरिरहेका छौँ । प्रमुख दलहरुबीच छलफल गरिकन दुई चार दिनभित्र हामी प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गतको सरकार बदल्ने काम प्रक्रियाहरू पूरा गर्छौं । बागमती प्रदेशमा पनि यही समीकरणअन्तर्गत प्रदेश सरकार पुनः गठन हुनेछ ।’

महासचिव पोखरेलले नेकपा एमाले समाजवादी मोर्चामा नजाने पनि स्पष्ट पारे । उनले नेकपा एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभई राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणको रहेको बताए ।

उनले एमाले सरकारमा पुगेकाले मिसन ०८४ के भयो भन्ने जिज्ञासा आइरहेको उल्लेख गर्दै अहिलेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्याउने गरी नै भएको दाबी गरे । उनले नेकपा एमालेको मिसन ०८४ को उद्देश्यमा फेरबदल नभएको बताए । उनले अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य नभएको बताए । अहिलेको सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा आधारित सहकार्य भएको बताए ।

उनले भने ‘हामी यतिबेला सरकारमा पुगेको कारणले गर्दा मिसन ०८४ के भयो भन्ने प्रकारको जिज्ञासा कतिपय कमरेडहरूको मनमा पैदा भएको देख्छु । सोसल मिडियामा पनि त्यही प्रकारको कौतुहलता देखिन्छ । अहिले हामीले गरेको सहकार्य मिसन ०८४ लाई सहयोग पु¥याउने गरी नै गरेका छौँ । त्यसअर्थमा मिसन ०८४ हाम्रो उद्देश्यमा कुनै फेरबदल भएको छैन । त्यो निरन्तर जारी छ । बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई सुदृढ गर्ने कुरा नै पार्टीको र मुलुकको भविष्यका लागि अपरिहार्य छ भन्ने पार्टीको जे मान्यता छ, त्यो मान्यतामा कुनै प्रकारको बदलाव आएको छैन । र अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य पनि होइन । यद्यपि त्यहाँ वामपन्थी दलहरूको सहभागिता बढी छ । तर यो सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा आधारित सहकार्य हो । त्यसमा सहमत भएका पाँच राजनीतिक दलहरूको सहकार्य हो । त्यसैले हामीले जे हो त्यही रुपमा बुझ्नुपर्छ । यो पाँच राजनीतिक दलबीचको सहकार्य हो जसमा वामपन्थीहरू पनि छन्, गैरवामपन्थीहरु पनि छन् । त्यसैले यो वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर जुन टिप्पणी छ, त्यसमा उद्वेलित हुनुपर्ने वा प्रभावित हुनुपर्ने आवश्यकता छैन । समाजवादी मोर्चाका तर्फबाट एमालेलाई समाजवादी मोर्चामा सामेल हुनका लागि प्रश्तचाव आयो भन्ने चर्चा गरेपछि कतिपय साथीहरूको कुरा के हो भन्ने छ । वास्तवमा हाम्रो नीति मोर्चा बनाउनेतर्फ गइरहेको छैन । हाम्रो नीति राजनीतिक ध्रुवीकरणको नीति हो । बलियो राष्ट्रिय शक्ति निर्माणको नीति हो । त्यसअर्थमा अहिले हामी यो ढंगले अघि बढीरहेका छौँ ।’

महासचिव पोखरेलले नयाँ सत्ता समीकरणको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *