रास्वपालक्षित गगनको टिप्पणी– राजनीतिमा छट्टुहरु हाबी भए

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुने थालेको टिप्पणी गरेका छन् ।

मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरु राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको आरोप समेत लगाए ।

‘राजनीतिमा छट्टुहरु हाबी हुन थाले । छट्टुहरु त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ । अलपत्र यसो रङरोगन गर्छ, जान्छ’उनले भने ‘हामीलाई छट्टुहरु चाहिएको होइन । हामीलाई धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन ।’

उनले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरु जरुरी रहेको बताए । झुक्याउने खालको छट्टुहरु नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो ।

‘हामीलाई गति भएको मान्छे पनि चाहियो । गति र मती दुवै भएको मान्छे चाहियो । मती छ गति छैन, गति छ, मति छैन । हामीलाई त गति र मति दुईवटै चाहियो उनले थपे ‘किनकी यो बेलामा हामीले मति पनि ठिक राख्नुपर्नेछ ।’

महामन्त्री थापाले काँग्रेस भित्र पनि मति बिग्रेका नेताहरु भएको भन्दै त्यसमा सुधार गरेर अघि बढनुपर्ने स्वीकार गरे ।

उनले भने–‘हामीले आफ्नो घरभित्रको फोहोर पनि ठिक गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ । हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ । त्यसलाई ठिक गर्नैपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *