बागमती प्रदेशमा अनलाइनमार्फत ‘पटके बाटो’ इजाजत पत्र भुक्तानी प्रणाली सुरु

काठमाडौँ । बागमती प्रदेश सरकारले अनलाइनमार्फत पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु गरेको छ ।

मंगलवार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सो भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् ।

त्यस अवसरमा उनले सेवाग्राहीलाई सुविधा दिन र राजश्व सङ्कलनमा समेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सो सेवा सुरुवात गरिएको बताए । मन्त्री लम्सालले सो सेवा सुरुवात गरेर मन्त्रालयले एउटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै अरु धेरै सुधारको कामहरु गर्न बाँकी रहेको बताए ।

उनले भने ‘यो अनलाइन सिस्टम गर्ने बित्तिकै हामीले कार्यालय जानै परेन । कार्यालय नगईकन यो अस्थायी पटके अनलाइनबाट लिनेगरी यो व्यवस्थालाई सुरु गर्नका लागि हामीले विगत ३/४ महिनादेखि धेरै हिसाबले छलफल ग¥यौँ मन्त्रालयमा । धेरै राउण्डमा हामी ट्राफिक प्रहरीसँग पनि बस्यौँ । यो फिल्डमा काम गर्ने साथीहरूसँग पनि बस्यौँ । आइटीका साथीहरूसँग पनि बस्यौँ । विभिन्न व्यवसायी साथीहरूसँग पनि बस्यौँ । त्यसपछि हामी अनलाइनमा जाने निधोमा पुग्यौँ । र आजबाट हामी यो सुरु गर्दैछौं । आज हामीले सुरु गरिसक्यौँ । अव लाइन बस्नुपरेन, अफिल आउनु परेन । बढी पैसा तिर्नुपर्ने गुनासो पनि सुन्न परेन । हामी प्रविधिको हिसाबले जाँदा सेवा लिने र दिनेबीच भेट गर्नु पनि परेन । र यसले यातायात कार्यालयको भीडलाई पनि कम गर्छ । सेवाग्राहीले सुविधा पनि पाउँछ । राजश्व सही ढंगले उठ्छ । र हामी सबै नयाँ ढंगले अघि बढ्छौँ । र यो महत्वपूर्ण काम हो भन्ने हामीलाई लागेको छ । यातायात मन्त्रालय र यातायात क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा छ । यो एउटा अंश मात्रै हो ।’

कार्यक्रममा बोल्दै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सो अनलाइन सेवाले सुशासनको क्षेत्रमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *