यातायात क्षेत्र प्रविधिमैत्री हुनुपर्छः मन्त्री थापा

काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई २१ औँ शताब्दीको प्रविधिसँग प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, प्रविधिमैत्री प्रणाली र व्यवसायीहरूको एकता आवश्यक रहेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री थापाले कुनै पनि देशको विकासको स्तर त्यहाँको यातायात प्रणालीबाट मापन गर्न सकिने उल्लेख गरे । उनले सार्वजनिक यातायातलाई आधुनिक र सुरक्षित बनाउन जीपीएस जडान, प्रविधिमैत्री मापदण्ड तथा पेट्रोलियम र डिजेल सवारीलाई क्रमशः विद्युतीय सवारीतर्फ रूपान्तरण गर्ने राज्यको नीति रहेको जानकारी दिए ।
उनले यातायात व्यवसायीहरूलाई नयाँ प्रविधि र नीतिगत सुधारमा सहयोग गर्न आग्रह गर्दै यातायात क्षेत्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री थापाले यातायात क्षेत्रमा धेरै संघ–संस्था सक्रिय हुँदा एउटै विषयमा फरक–फरक धारणा आउने गरेको उल्लेख गर्दै यसले ऐन तथा मापदण्ड निर्माणमा अन्योल सिर्जना गर्ने बताए । उनले अधिकार प्राप्तिका लागि व्यवसायीहरू पहिले आफैं एकीकृत र बलियो हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘देशको विकास कुन स्तरमा पुगेको छ भन्ने कुरा त्यहाँको यातायात प्रणालीले देखाउँछ । अब सातौँ अधिवेशनबाट आउने नेतृत्वले २१ औँ शताब्दीको प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ । राज्यले नीति निर्माणमा सुधार गर्नुपर्छ भने व्यवसायीहरूले पनि आफूलाई समयअनुसार रूपान्तरण गर्नुपर्छ ।’
मन्त्री थापाले लगानीकर्ताको पुँजी सुरक्षा, चालक–सहचालक तथा कामदारहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले यातायात क्षेत्रमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्नेमा जोड दिए ।
साथै, सवारी साधन आयात गर्दा अन्तर्राष्ट्रिय कम्पनीहरूले ल्याएका मापदण्ड नेपाली सडक, भूगोल र आवश्यकताअनुसार उपयुक्त छन् वा छैनन् भन्ने मूल्यांकन गरेर मात्रै निर्णय लिनुपर्ने उनको भनाइ थियो ।
‘पहिला राष्ट्रियतालाई ध्यानमा राखेर निर्णय गर्नुपर्छ । नेपालको माटो र सडक सुहाउँदो सवारी तथा मापदण्ड कस्तो हुनुपर्छ भन्नेमा व्यवसायीहरू स्वयं स्पष्ट हुन जरुरी छ,’ उनले भने ।








