लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवश्यक छ : उपेन्द्र यादव

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबैको साझेदारीमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनले सामाजिक न्याय र समानताको अभावमा संघीयता र गणतन्त्र कुनै निश्चित वर्गको खेलौनाको रुपमा मात्रै रहने जिकिर समेत गरे ।

‘समानता र सामाजिक न्याय भएन भने लोकतन्त्रको कुनै अर्थ रहँदैन । हामीले संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र त बनायौं’उनले भने ‘तर समानता, सुशासन र सामाजिक न्याय खासगरी सामाजिक न्याय र समानताको अभावमा लोकतन्त्र र गणतन्त्र एउटा निश्चित समुदाय, एउटा निश्चित वर्ग, निश्चित विशेष समुदायको खेलौना भएर मात्रै रहन्छन् ।’

सोमवार काठमाडौंमा आयोजित साधना राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले पहिचानसहितको समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र महत्व बढाउने स्पष्ट पारे ।

उनले मुलुकलाई एकतावद्ध बनाएर अघि बढाउन पनि समानता र सामाजिक न्याय हुनुपर्ने भएकाले सो सम्बन्धि बहसलाई अघि बढाउन पनि जरुरी रहेको बताए ।

‘पहिचान, समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक र महत्व बढाउँछ’उनले थपे ‘नेपालको विविधतालाई एकतामा बाँधेर सहमतिको बाटोमा अघि बढाउँछ । तर त्यो दिशातर्फ सहजै रुपमा त जाँदैन । तर त्यसका लागि बहस हुन जरुरी छ ।’

उपप्रधानमन्त्री यादवले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर कलम चलाउन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

सामाजिक सञ्जालले अराजकता निम्त्याएको उल्लेख गर्दै उनले सामाजिक दायित्व र राष्ट्रिय जिम्मेवारीलाई आत्मसात गरेर सञ्चाकर्मीहरुले अघि बढ्नुपर्ने तर्क समेत गरे ।

उनले भने–‘यसमा पत्रकारहरुको भुमिका बढी छ । हुन त आजको युगमा यसो हेर्छु–सोसल मिडिया २÷३ जना बसेर हेर्न पनि कठिन हुने जस्तो युगमा यहाँहरुको कलमले एउटा चेतना, सामाजिक दायित्व र राष्ट्रप्रतिको जिम्मेवारीलाई अगाडि बढाउन सकियोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *