महरा पक्राउबारे स्वर्णिम–’प्रधानमन्त्रीकै मान्छे भएपनि रास्वपाले छोड्दैन भन्ने सन्देश दियौँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा नेपाली राजनीतिको लोकतान्त्रिक मूल प्रवाहमा आइसकेको दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिमा स्थापित भइसकेको बताए ।
उनले पछिल्लो पटक सरकारमा सहभागी भइसकेपछि रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले फिल्मको ट्रेलर सुरु गरिसकेको पनि बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको कमहरु महत्वपूर्ण रहेको बताए ।
उनले रास्वपाबाट सरकारमा गएका मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालका मित्र एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको भन्दै रास्वपाले भ्रष्टाचारीहरूलाई नछोड्ने संकेत दिएको उल्लेख गरे ।
उनले आरती साहको मुद्दालाई टुंगोमा पुर्याउने प्रक्रिया सुरु भएको, सरकारले पन्छ्याएको आयोगहरू पुनः सक्रिय बनाउने काम सुरु गरेको, मिटरब्याज पीडितहरूदेखि सहकारीको समस्या समाधानका लागि आवश्यक काम अघि बढाएको पनि बताए ।
उनले भने ‘फिल्मको ट्रेलर गज्जबसित सुरु भएको छ । माननीय गृहमन्त्रीज्यूले जुन कदमहरू लिइरहनुभएको छ । विश्वासको मत लिएकै दिन उहाँले दसौँ महिनासम्म अलपत्र परेको, राज्यको नजर नपुगेको, हेलचेक्राँई गरिएको आरती साहको मुद्दालाई टुंगोमा पुर्याउने प्रक्रिया सुरु गर्नुभएको छ । मिटरब्याज पीडितहरूदेखि लिएर सहकारीको समस्या झेल्नेहरूदेखि लिएर, धेरै आयोगहरू पहिला पन्छ्याइएको थियो, त्यसलाई सक्रिय बनाउनुभएको छ । फाइलहरू लुकाउने चोर हामीले सुनिरहेका थियौँ । त्यसलाई पनि उहाँले फाइलहरू टकटक्याउन थाल्नुभएको छ ।’
उनले भने ‘तपाईँहरूलाई थाहा छ, कृष्णबहादुर महरा भनेको चानचुने राजनीतिक पात्र होइन । ०६२—०६३ पछि त उहाँ उपप्रधानमन्त्री, सभामुख, गृहमन्त्री, परराष्ट्रमन्त्री,अर्थमन्त्री दोहोर्याइ, तेहयाई हुनुभएको छ । वहालवाला प्रधानमन्त्रीका अनन्य मित्र त्यति नजिकको पात्रलाई पनि हामीले कानुनको घेराभित्र ल्याएका छौँ । त्यो सानो कदम होइन, त्यसले एउटा संकेत गरेको छ । कृष्णबहादुर महरासमेत सत्तासँग यति नजिक, सत्तारुढ दलको उपाध्यक्षलाई समेत कानुनी घेरामा ल्याउनसक्छौँ भने अरु त त्यति ठूलो रहेन । त्यो संकेत दिन खोजेको पनि हो । कुनैपनि मुलुकको यति अनुकूल समय जीवनमा एक पटक आउँदो रहेछ । जनसांख्वीक बनावटले हामीलाई साथ दिइरहेको छ । यसलाई हामीले अहिलेकै जस्तो राजनीतिक अभ्यासमा छोडिदियौँ भने यो खेर जाने भयो, नेपाल कहिले पनि नबन्ने भयो, तर यसलाई सम्हालेर उपयोग गर्ने हो भने देश विकास हुन समय लाग्दैन ।’
भने ‘हामीलाई पहिला खिसिट्युरी गरिन्थ्यो, यो सानो दलले के गरिखान्छ, यो पानीको थोपो जस्तो हो, एकजना रवि लामिछाने छन्, रवि नहुने हो भने केही पनि होइन भन्दा भन्दै आज हामी नेपाली राजनीतिको लोकतान्त्रिक मूल प्रवाहमा आइसकेका छौँ । हामी स्थापित भइसकेका छौँ । आजका मितिमा सबैभन्दा भरपर्दो विश्वसनीय पार्टी नै रास्वपा बनेको छ ।’
उपसभापति वाग्लेले रास्वपा अभिमन्युझैँ चक्रभित्र पस्न मात्रै जान्ने र निस्किन नजान्ने नभई चक्र भित्र बसेर पनि निस्किने रोडम्याप आफूहरूसँग रहेको बताए । उनले नीतिगत भ्रष्टाचार, ठेक्कापट्टामा भाग खोज्नेकुरामा पार्टी जोगिनुपर्ने बताए । उनले जनताले एकैदिन पनि औँला ठड्याउने काम गर्नु नहुने बताए । उनले इलामको उपनिर्वाचनमा रास्वपाले जितेको खण्डमा त्यसले २०८४ को लागि उत्साहको मार्ग प्रशस्त गर्ने बताए ।








