रवि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । शनिबार बिहान काठमाडौंको मध्येबानेश्वरमा पार्टीका स्थानीय कार्यकर्तासँगको भेटमा नेता कोइरालाले यस्तो बताएका हुन् ।

सडकदेखि संसद्सम्म चौतर्फी विरोध भइरहँदा पनि उहाँ पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइराला बताए । उनले भने, ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो ।’

नेता कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिरहँदा पनि काठमाडौँका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए । हरेक परिवर्तनमा काठमाडौंवासीको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उहाँहरूको निरन्तर खबरदारीको आवश्यकता रहेको धारणा राखे ।

स्थानीय कार्यकर्ताहरूले पार्टीमा चाकडीप्रथा हाबी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावना अनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको जस्ता गुनासाहरू राखेका थिए ।

भेटघाट कार्यक्रममा बाग्मती प्रदेश सभा सांसद सुरज लामिछाने, काठमाडौं १का क्षेत्रीय सभापति रवि विक्रम राणा, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा कुलप्रसाद कोइराला, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, श्रीहरी अर्याल, वरिष्ठ पत्रकार हरिहर विरहीलगायतको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =