कम्युनिस्ट एकतामा हामी बाधक बन्दैनौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिस्ट एकताका लागि बाधक नबन्ने बताएका छन् । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।

अहिले कम्युनिस्ट एकताका लागि विभिन्न कम्युनिस्ट पार्टीबीच चरणबद्ध छलफल चलिरहेको बताउँदै उनले कम्युनिस्ट सिद्धान्त र आदर्शलाई छोडेर एकता गर्न नहुनेमा आफूहरू प्रतिबद्ध रहेको प्रष्ट पारे । ‘कम्युनिस्ट शक्तिहरू एकीकृत हुनुपर्नेमा अधिकांश कम्युनिस्ट विचारका दलहरू सहमत छन्,’ अध्यक्ष नेपालले भने, ‘हामीसँग कुन ढङ्गको व्यवहार हुन्छ त्यसमा भर पर्छ, हामी छलफल गर्दै जानेछौँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट आदर्शलाई मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने सबै दललाई मिलाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकको बृहत्तर हितका साथै जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिस्टलाई गोलबद्ध गराएर राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसको लागि विभिन्न रूपमा छरिएका कम्युनिस्टलाई मिलाएर बलियो पार्टी निर्माण गर्नुपर्ने खाँचो औँल्याए ।

अध्यक्ष नेपालले मुलुकमा जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिका रूपमा प्राप्त वर्तमान राजनीतिक प्रणाली समाप्त पार्न केही समूह क्रियाशील रहेकाले संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्न प्रजातान्त्रिक शक्तिसँग पनि सहकार्य जरुरी रहेको विचार व्यक्त गरे । निर्धारित समयमै पार्टीको महाधिवेशन सम्पन्न हुने उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =