पक्राउ परेको ४ दिनमै छुटे कृष्णबहादुर महरा

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । उनी पक्राउ परेको ४ दिनमै रिहा भएका हुन् ।

सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा सीआईबीले उनलाई हाजिर जमानीमा छोडेको हो । स्वास्थ्य अवस्थाका कारण उनलाई छोडिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

भेपमा भएको सुन तस्करी प्रकरणमा गत सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

अस्पतालमा राखिएका उनलाई शुक्रवार सीआईबी र सरकारी वकिलको कार्यालयले बयान लिएपछि छोडिएको हो ।

भेपमा लुकाएर तस्करी गरिएको सुन प्रकरणमा महराको संलग्नता देखिएको यसअघिको सीआईबीको प्रतिवेदनमा उल्लेख थियो । त्यस्तै सुन प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले पनि उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

२०७९ पुस १० गते फ्लाई दुबईबाट चिनियाँ नागरिक ली हानसङले सुन भरेर ल्याएका ७ सय ३० वटा विद्युतीय चुरोट भेप भन्सारले जफत गरेको थियो । सोही प्रकरणमा ली हानसङ कृष्णबहादुर महरासँग ११ पटकसम्म फोन सम्पर्क भएको देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =