महिला न्यायाधीशले सम्पादन गरेका मुद्दा विवादरहित

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित रहेको बताएका छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

न्याय सम्पादनमा आएका कमीहरू पुनः सच्याइएको उदाहरण रहेको भन्दै उनले न्याय सम्पादन सधैँ सही नहुने बताए । ‘न्याय सम्पादन सधैँ सही हुन्छ भन्ने पनि मलाई लाग्दैन । कहिले कहीँ त्यसमा कमीहरू आउन सक्छन् । त्यसलाई सच्याइएको पनि हामीलाई थाहा छ । तर तुलनात्मक रूपले हेर्ने हो भने महिला श्रीमानहरूले, महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित, साँच्चै न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने त्यो ल्याकत राखेको विगतबाट देख्न सक्छौँ,’ उनले भने, ‘यो हामी सबैको गौरवको विषय हो । हामीले राज्यको सिंगै पुनःसंरचना ग-यौँ । नयाँ संविधान जारी गरेका छाैँ । राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्वको कुरा ग-यौँ । सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको कुराहरू हामीले गरेका छाैँ ।’

मन्त्री गिरीले अध्ययन समयदेखि नै महिलाहरूलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताए । ‘अहिले पनि न्यायको क्षेत्रमा हामीले जसरी न्यायाधीशहरूको नेतृत्व प्रदान गर्नुपर्ने हो त्यसमा अझै धेरै कमजोरीहरू रहेका छन् । यो यथार्थ हो । आजको दिनमा पनि १०.५ प्रतिशत मात्रै भनेर हामीले आँकडा मैले सुनेँ । यो अत्यन्त कम हो । यसो भन्दैमा हामीले यसको कलेजमा कानून पढ्ने विद्यार्थीदेखि नै महिलालाई यो क्षेत्रमा आकर्षित गर्न सकिएन भने सर्वोच्च अदालतमा एकैपटक धेरै न्यायाधीश हामीले खोजेर पाउँदैनौँ । तर पछिल्लो समयमा एउटा खुसीको कुरा के छ भने कलेजहरूमा पनि उल्लेख्य मात्रामा महिला कानूनका विद्यार्थी पाउँछौँ,’ उनले भने ।

सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरूलाई निश्चित रुपमा कार्यान्वयन गर्नका निम्ति र कानुनहरू निर्माण गर्नका निम्ति सरकारले प्राथमिकता दिएर काम गरिरहेको उनले बताए । महिला न्यायाधीशहरूको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =