राजेन्द्र महतो लोसपाबाट स्वतः निष्काषित भएका हुन् : महन्थ ठाकुर (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोले पार्टी परित्याग गरेको भन्दै पार्टीबाट स्वतः निष्काषित भएको बताएका छन् ।

बिहीवार पार्टीले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले पार्टीका पूर्वनेता राजेन्द्र महतोले पार्टी छोडेर गएको भन्दै उनी स्वतः निष्काषित भएको बताएका हुन् ।

‘आफैँ गइसकेपछि स्वभाविक रुपमा पार्टीबाट निष्काशित पनि हुनुभएको छ । चित्त नबुझ्ने गएपछि त हित नै हुन्छ हाम्रो । उहाँमाथि त प्रभाव पर्छ, पर्छ’उनले भने‘मधेसमाथि कस्तो प्रभाव पर्छ हेर्न बाँकी छ । किनकी मधेशको मात्रै कुरा गर्नुभएको छैन उहाँ । उहाँ आफैँ कार्यक्रम गरेर घुमिरहनुभएको छ । त्यसको अर्थ स्वतः पार्टीमा नरहेको हो ।’

उनले पार्टीमा चित्त नबुझेर महतो निस्किएको भन्दै महतोले पार्टी छोड्दा आफूहरुलाई हित नै हुने बताए । उनले महतोले मधेसको मात्रै कुरा नगरेको भन्दै यसले उनैलाई प्रभाव पार्ने बताए ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ठाकुरले प्रदेश सरकारलाई संघको दृष्टिले हेर्नु नहुने भन्दै मधेस प्रदेश सरकारमा पार्टी सहभागि भएको बताए ।

उनले भने–‘प्रदेश र संघ अलग–अलग कुरा हो । सबै ठाउँमा प्रदेशलाई संघको दृष्टिमै हेर्नु हुँदैन । मधेस प्रदेश सरकारमा अहिलेसम्म हामी छौँ ।’

लोसपाको केन्द्रिय समितिको बैठकले सरकारले भारतसँग गरेको विद्युत व्यापार सम्झौताले मुलुकलाई व्यापक हित भएको निष्कर्ष निकाल्दै सो सम्झौताको स्वागत गरेको छ ।

त्यस्तै भारतले नेपालको पूर्वाधार विकासमा दिँदै आएको अनुदानलाई ५ करोड रुपैयाँबाट बढाएर २० करोड रुपैयाँ पु¥याएकोमा पनि सो निर्णयलाई लोसपाले स्वागत गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए ।

‘विद्युत व्यापार सम्झौता अन्तर्गत दश हजार मेघावाट विद्युत विक्रि गर्ने सहमती मुलुकको व्यापक हितमा भएको र यसले मुलुकको समृद्धिमा टेवा पुग्ने भएकोले यसलाई स्वागत गर्दछ उनले भने ‘यसैगरी मुलुकको पूर्वाधार विकासमा भारतले गर्दै आएको पाँच करोड रुपैयाँलाई बिस करोड रुपैयाँ सीमा तय गरिएको निर्णयलाई पार्टीको बैठकले स्वागत गर्दछ ।’

त्यस्तै बैठकले बिआरआई सम्झौता नेपालको हितमा नभएको ठहर गरेको पनि उनले जानकारी दिए ।

उनले भने–‘बिआरआई सम्झौता नेपालको हितमा नभएको पार्टीको ठहर छ । नेपाल भारत सीमा व्यवस्थापन गर्ने नाममा नागरिकलाई दुःख दिने कार्य अविलम्व रोक्न माग गर्दछौँ ।’

त्यस्तै लोसपाले नागरिकता समस्या समाधान गर्न सरकार समक्ष माग गरेको छ । बैठकले मधेश आन्दोलनमा सहभागि नेता, कार्यकर्ताहरुलाई राजनीतिक पूर्वाग्रह अनुसार बन्दी बनाइएको भन्दै त्यसको कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पनि गरेको ।

बैठकले विगतदेखि अहिलेसम्म सबै लाभको पदमा बसेका राजनीतिकर्मी, उच्च पदस्थ पदाधिकारी, अन्यको सम्पती जाँचबुझ गर्न सरकारसँग जोडदार माग गरेको वरिष्ठ उपाध्यक्ष सोनालले जानकारी दिए ।

पार्टीको विधान अधिवेशन ६ महिनाभित्र र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय समेत गरेको उहाँले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =