ओलीको आश्वासन– दलित समुदायबाट पनि मन्त्री बन्दै छन्

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुदायलाई पनि संघीय सरकारको मन्त्री बनाउने बताएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ’उनले भने ‘एउटा ठाउँ छ त्यहानिर । यस पटक पनि मन्त्री हुन्छ । म तपाईहरु भनिराख्छु । पहिलेपहिले पनि मन्त्री हुन्थे ।’
दलित समुदायले कहिलेकहिले मन्त्री किन भएन भन्ने प्रश्न गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले एउटा ठाउँ मन्त्री परिषद्मा रहेकाले एक जना दलित समुदायका व्यक्ति मन्त्री हुने बताए ।
उनले सबै जाति, समुदाय एकैचोटी मन्त्री हुन सम्भव नभएको पनि स्पष्ट पारे । नेपालमा १२५ भन्दा बढी जातजाति भएकाले पनि सबैले एकैपटक मन्त्री बन्न अवसर आउन नसक्ने अध्यक्ष ओलीको भनाई थियो ।
‘सबै जाति, समूदायबाट, सबै सधैँ नपर्न पनि सक्छन् । किनभने हामी १२५ जातजातिहरु छौ । सबैका आ आफ्नो फिलिङ छन्’ओलीले भने ‘त्यसकारण त्यो समयमा एकैचोटी सम्बोधन गर्न सकिदैन । यसअघि पनि विभिन्न साथीहरु नेतृत्व गरिसक्नु भएको छ ।’
अध्यक्ष ओलीले सामाजिक न्यायको पक्षमा आफ्नो पार्टीले सदैव संघर्ष गर्दै आएको दावी पनि गरे ।








