संघीय निजामती सेवा ऐन जस्ताको तस्तै पारित हुन दिन्नौं : रामहरी खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संसदमा पश्तुत संघीय निजामती सेवा सम्बन्धि विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताएका छन् ।
बुधवार ललितपुरमा आयोजित संघीय निजामती सेवा विधेयकसम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘यो धेरै पहिले निर्माण भएको निजामती सेवा सम्बन्धि विधेयक अहिले फेरि संसदमा प्रश्तुत भएको छ । त्यसमा धेरै चरणहरु बाँकि छन्’उनले भने ‘यसमा हामी पनि सहमती छौ कि यो जस्ताको तस्तै पारित हुने सम्भावना कम देखेको छु । म राज्य व्यवस्था तथा सुशासन समितिको हैसियतमा मैले सरसर्ती हेर्दाखेरी त्यो देखेँ ।’
सभापति खतिवडाले विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
‘मुख्यसचिव, मन्त्रीसहित राखेर हामी छलफल गर्छौ । र, विशेष गरी कर्मचारी हकहितको लागि त छदैछ’ उनले थपे ‘त्यो सँगै यसलाई जनतासँग सरोकार राख्ने कसरी बनाउन सकिन्छ ? त्यसमा पहलकदमी हृुन्छ भनेर म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु ।’
उनले सो विधेयकबारे हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको पनि स्पष्ट पारे । सभापति खतिवडाले जनताका समस्या समाधान हुने गरी सो विधेयकलाई अघि बढाउन आफू लागि पर्ने पनि बताए ।
उनले भने– ‘प्रदेशलाई प्रदेशको अधिकार दिने, नदिने ? यावत विषयहरु छन । यी सबै विषयमा हामी अहिले लामो समय पछाडि आएकाले हतारमा निर्णय गरेर पछि पछुताउने अवस्थामा जान नपरोस भन्ने मेरो व्यक्तिगत धारणा छ ।’








