रविलाई गृहमन्त्री बनाएर प्रचण्डले जनताको अपमान गरे : चित्रबहादुर केसी (भिडिओ)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बदनाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताएका छन् ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेले पार्टीमा गृहमन्त्री बन्नसक्ने कोही नभेटेको हो ? भन्दै प्रश्न गरे ।
उनले मुद्दा लागेको व्यक्तिलाई उपप्रधान एवं गृहमन्त्री बनाएर सरकारले जनताको अपमान गरेको बताए ।
‘यत्रो हाउसभित्र र बाहिर पनि यस्तो बदनाम मान्छेको सहारा लिएर जुन खालको सत्ता पक्षले गतिविधि गरिरहेको छ, यो त विचित्रैको कुरा हो’उनले भने ‘यो मुलुकमा त कोही पनि रैनछन्, गृहमन्त्री हुने मान्छे, माओवादीका लागि । एमालेभित्र पनि कोही रैनछन् । यो त वास्तवमा नेपाली जनतामाथि अपमान हो नि ।’
उनले गृहमन्त्री रवि लामिछानेले आफ्ना जालसाझीहरु लुकाउन गृहमन्त्री नै हुनुपर्ने माग राखेको पनि बताए । उनले दोषीलाई उम्काउने हो भने मुलुकको दुर्गति हुने बताए ।
उनले भने ‘त्यस्तो मुद्दा लागेको मान्छे । दोषीलाई उम्काउने हो भने मुलुक के हुन्छ ? गल्ती कमजोरी भएको छ, वर्तमान गृहमन्त्रीको ।’
उनले गृहमन्त्रीको गल्ती र कमजोरी रहेको कुरा हरेक नागरिकलाई जानकारी रहेको बताए । गृहमन्त्री लामिछानेले गृह मन्त्रालय नै रोज्नुको कारण सहकारी हिनामिनाको रकम राफसाफ गर्न रहेको बताए ।
उनले गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन नसकिने बताए ।
‘८४ तिक्डम गरेर उहाँलाई गृहमन्त्री हुनैपर्ने । त्यो सहकारीबाट आफूले उडाएको रकमलाई राफसाफ पार्न हो’ उनले थपे ‘कसले बुझेको छैन यो कुरा । त्यस्ता गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिन्छ ?’








