सरकारले गरिबी घटाउँछ, शून्यमा झार्नेगरी काम गर्छ : केपी ओली

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गर्ने बताएका छन् ।

अघिल्लो सरकारले गरिबी ३ प्रतिशतले बढाएको उल्लेख गर्दै उनले त्यसलाई घटाउँदै लगेर शून्यमा झार्ने सरकारको योजना हुने पनि बताए । पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधवार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गरिबिलाई शून्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने पनि बताए ।

उनले भने ‘‘अघिल्लो सरकार जस्तो दुई वर्षमा ३ प्रतिशत गरिबी बढाउने हो भने सरकारमा हामी हुनु÷नहुनुको केही अर्थ हुँदैन ।’

उनले चीनले गरिबी शून्यमा झारेको दृष्टान्त पेस गर्दै आफूहरूले पनि त्यसै अनुसार काम गर्ने बताए । विगतमा एमाले नेतृत्वको सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको, असहाय, अशक्तहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको तर आफूहरू सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको ओलीले जिकिर गरे ।

भने ‘सडक बालबालिकाकाको हामीले रेस्क्यू गरेका थियौँ । सडक बालबालिका थिएनन् हाम्रो समयमा । हामीले ज्येष्ठ नागरिकहरूको व्यवस्था, एकल नागरिकहरूको व्यवस्था गर्याैँ । त्यो सहारा नहुनेहरूका लागि गरिएको हो ।’

उनले जनताको दुःख, कष्ट हरण गरेर जाने काम विगतमा पनि एमालेले गरेको र त्यसैलाई निरन्तरता दिनेगरी आगामी दिनमा पनि काम गर्ने बताए । अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले उनीहरूलाई साथमा लिएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने ‘जनताको दुःख कष्ट हरण गर्ने हो । पैतालामा बिझेको काँडा निकाल्ने हो । ठूला कुरा मात्रै गर्ने होइन नि । त्यो काम हामी हुँदा गरेका थियौँ ।’

ओलीले एमालेमाथि विपक्षहरूले लगाउने गरेको आरोपको प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − six =