सर्वोच्चले गृहमन्त्रालयसँग माग्यो प्रसाईँका बडीगार्ड पक्राउ गर्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले चर्चित अभियन्ता दुर्गा प्रसाईंका बडीगार्डलाई पक्राउ गर्नुको कारणबारे सरकारसंग ३ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ ।
न्यायाधीश सारंगा सुवेदीको इजलासले सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका २ जना बडीगार्डलाई पक्राउ गर्नुको कारण माग गरेको हो ।
प्रसाईंका बडीगार्ड रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७ वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । यस्तै अर्का बडीगार्ड दीपक खड्काको हकमा उनकी श्रीमती शान्ता खड्काले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।
उक्त रिटमा न्यायाधीश महेश शर्मा पौडेलले पनि ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका हुन् ।
सोमबार पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।
सोमबार प्रसाईंका बडीगार्डहरू पेस्तोल सहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए ।








