इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तन गरेर हुँदैन : रामहरि खतिवडा (भिडिओ)

काठमाडौँ । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सरकारको इन्जिन नै काम नलाग्ने भइसकेकाले गियर परिवर्तन गरेर काम नहुने टिप्पणी गरेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य खतिवडाले सरकारको इन्जिन काम नलाग्ने भएको बताएका हुन् । उनले सरकारले गियर परिवर्तन गरे पनि केही काम नगर्ने बताए ।
उनले सरकारको न्यूनतम साझा कार्यक्रममा विभिन्न आयोगहरू गठन गर्ने उल्लेख गरिएको भन्दै सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्न नसक्ने सरकारले कसरी गठन गर्छ भन्नेमा आशंका व्यक्त गरे । उनले जनतालाई नढाँट्न आग्रह गरे । सांसद खतिवडाले ७५३ वटै स्थानीय तहमा अस्पताल निर्माण गर्न बजेटको व्यवस्था गर्न माग गरे ।
उनले भने ‘केही दिन अगाडी प्रधानमन्त्रीज्युले संसदमा बोलेको सुनेँ । सरकारको गियर परिवर्तन गर्नुपर्यो भन्नुभयो । एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम गर्दैन भन्ने आभास हामीलाई भएको छ । अर्को कुरा, सरकारले हिजो न्यूनतम साझा कार्यक्रम घोषणा गरेको सुनियो । विभिन्न आयोग गठन गर्छौं भनेको पनि त्यहाँ उल्लेख गरेको पाइयो । सहकारी ठगीको एउटा संसदीय संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला त्यो पनि अचम्मको विषय प¥यो । जनतालाई ढाँट्ने काम नहोस् । ७५३ स्थानीय तहमा अस्पताल निर्माणका लागि रकम अभाव भएको छ । सबै ठाउँमा रकम तुरुन्त व्यवस्था गर्ने व्यवस्था सरकारले गरोस् ।’








